प्रदेश १ सरकारले आगामी १ असारदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको छ । मोरङको धनपालथान-५ दादरवैरीया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले लकडाउनको मोडालिटी बदल्ने बताएका हुन् ।
अब सधै यसरी बस्न नसकिने भन्दै उनले लकडाउनको मोडालिटी बदल्नु पर्नेमा जोड दिए । मन्त्री घिमिरेले लकडाउनको कारणबाट दिनहुँ जनता प्रभावित हुँदै गइरहेको भन्दै प्रदेश सरकारले असार १ देखि लकडाउनको मोडालिटी बदल्ने गृहकार्य भरहेको बताए ।
मन्त्री घिमिरेले कोरोनाबाट नआत्तिएर सुरक्षित हुनतर्फ केन्द्रित हुन सबैमा आग्रह गरे । उनले आधारभूत स्वास्थ्य सेवा केन्द्र धनपालथानकै नमुनाको रूपमा भवन निर्माण होस् भन्दै शुभकामनासमेत व्यक्त गरे ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गर्नका लागि समाजसेवी बद्री पहाडीले ४ कठ्ठा जग्गा दान गरेका थिए । पहाडीले यस क्षेत्रमा अधिकांश दलित विपन्न वर्गका समुदायहरू रहेकोले स्वास्थ्य सेवा केन्द्रका लागि जग्गा दिएको बताए ।
स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवन निमार्ण गर्न संघीय सरकारले ६३ लाख रूपैयाँ दिएको धनपालथान-५ वडा अध्यक्ष गयानन्द सरदारले जानकारी दिए । भवनका लागि ३ किस्तामा बजेट आउने भएकाले निमार्ण सम्पन्न हुन ५ वर्ष लाग्ने निमार्ण पक्षले जनाएको छ ।