एजेन्सी, जेठ २०-संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा भइरहेको प्रदर्शनले हिसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन् । उनले परिवर्तनको आकांक्षाअनुसार भएको प्रदर्शनमा हिंसाले स्थान पाएको भन्दै आलोचना गरेका हुन् ।
अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको मृत्युपछि भइरहेको प्रदर्शनले अमेरिकाका धेरै सहर अस्तव्यस्त बनेका छन् । रंगभेद विरुद्ध देशव्यापी रुपमा भइरहेको प्रदर्शनमा हिंसाको प्रयोग भएको भन्दै उनले गम्भीर चासो व्यक्त गरे ।
अमेरिकामा अफ्रिकी मूलका पहिलो राष्ट्रपति समेत रहेका ओबामाले परिवर्तनको अपेक्षामा भइरहेका शान्तिपूर्ण प्रदर्शनमा भइरहेको हिंसा तत्काल अन्त्य गर्न अपिल गरेका छन् ।
अधिकांश प्रदर्शनकारीहरु शान्तिपूर्ण रहेको तर केही सानो समूह हिंसात्मक हुँदा मानिसहरु जोखिममा परेको उनले बताए । ओबामाले विनाशले लामो समयसम्म आफैलाई समस्यामा पार्ने भन्दै उनले हिंसालाई कुनै पनि हालतमा प्रदर्शनको माध्यम बनाउन नहुने उल्लेख गरेका छन् । उनले फ्लोइडका लागि न्यायको माग समेत गरेका छन् ।