नुवाकोट, २४ वैशाख-नुवाकोटको विदुर नगरपालिकाका १ व्यक्ति कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार आज साँझ ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना संक्रमणको लक्षण बढी मिल्दोजुल्दो फेला परेपछि अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको हो ।
आज उनको स्वाब संकलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको उनकोे स्वाब परीक्षणको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ । उनी १ महिनाअघि भारतको दार्जिलिङबाट विदुर फर्किएका थिए ।
यसअघि पनि नुवाकोटका २ जनालाई त्रिशूली अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाब परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको छ ।