डडेल्धुरा, १९ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजिटिभ देखिएको छ । २८ दिनदेखि उपचार गराइरहेकी धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया महिलाको छैठौँ पटकको थ्रोट स्वाब परीक्षणमा पनि नतिजा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
२२ चैत कोरोना पुष्टि भएकी संक्रमित महिलाको छैठौँ रिपोर्ट पोजिटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले जानकारी दिए ।
हालसम्म सेती अस्पतालबाट ४ जना संक्रमित उपचारपछि निको भइसकेका छन् । निको हुनेमा लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उपमहानगरपालिका–५ का ३४ बर्षीय युवा, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–१ कि ५० बर्षिया महिला रहेका छन् ।