मस्जिद र मदरसामा जमाती लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ । आइतबार मुस्लिम आयोगको कार्यालयमा भएको सर्वपक्षीय छलफलले कुनै पनि मस्जिद र मदरसामा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो ।
आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्याउने तत्वले सामाजिक सञ्जालमा जमाती लुकेर बसेको आरोप लगाएको बताए । यसअघि नै कुन ठाउँमा कति जमाती रहेका छन् भन्ने कुराको जानकारी गृह मन्त्रालय र प्रत्येक जिल्ला प्रशासन कार्यालयमा दिइएको पनि उनले बताए ।
आयोगको सर्वपक्षीय छलफलले मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय पनि गरेको छ । प्रतिनिधिमण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सहयोग गर्ने उनले बताए ।
मुलुक कोभिड—१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला विभिन्न इस्यु बनाएर जातीय द्वन्द्व फैलाउने काम भएको प्रति आयोगले आपत्तिसमेत व्यक्त गरेको छ ।
उदयपुर र पर्साको मस्जिदमा रहेका जमातीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि मुस्लिम समुदायका व्यक्तिहरू कोरोना भाइरस फैलाउन उद्त रहेको आरोप लाग्दै आएको थियो ।