काठमाडौं, ६ वैशाख-स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी ३ दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुनसक्ने देखिएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको छ ।