पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावनामा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय देखिएका शाहले सरकारले दैनिकी चलाउन नसकेर गाउँ फर्किन लागेकाे लस्करलाई उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका हुन् ।
‘दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घरआँगन पुग्न लागेको निरीह जनलस्करलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ’ उनले ट्वीटमा भनेका छन् ।
साथै, उनले प्रहरी प्रशासन पनि संवेदनशील घडीमा सहयोगी बन्न नसकेको बताएका छन् । प्रहरीबाटै स्वास्थ्यकर्मी कुटिएपछि विरोध भइरहेका बेला पूर्वराजा शाहले संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी देखिएको भन्दै आलोचना गरेका हुन् ।
‘संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदै छ । शासक वर्गले यस क्षणलाई गम्भीरतापूर्वक नलिनु जनमतको अनादर गर्नुसरह हो,’ उनले भने ।