काभ्रेपलाञ्चोक, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीरकण तथा रोकथामका लागि यहाँका स्थानीय तहमा स्थापना गरिएका सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले बताए ।
उनका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका ८ जनाबाहेक सबैलाई एकान्तबास (होम क्वारेन्टाइन)मा नै राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तबास मै बसाइएको हो ।
स्थानीय तहले हालसम्म २ सय ८८ शय्याको क्वारेन्टाइन स्थापना गरेका छन् । तीमध्ये धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८ र पाँचखाल नगरपालिकामा ११ शय्या तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा ४ र खानीखोला गाउँपालिकामा १५ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।
धुलिखेल अस्पतालमा ८ र बनेपास्थित शिरमेमारियल अस्पतालमा ५ शय्याको आइसोलेसन कक्षको पनि निर्माण भएको छ । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाउँपालिका छन् ।
कार्यालयका अनुसार माघ महिनायता ४ सय ५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क छ । तीमध्ये चैत महिनामा मात्रै २ सय ५१ जना विदेशबाट घर फर्किएको पाइएको छ ।
घर फर्किएकाको स्थानीय तहको समन्वयमा ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडीटी० भइरहेको बताइएको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १ सय ८९ को आरडीटी भएको छ ।
यसैबीच, परीक्षणका क्रममा मङ्गलबार दुई युवामा कोरोना भाइरस सङ्क्रमणको शङ्का देखिएकाले दुबै जनालाई धुलिखेल अस्पतालस्थित आइसोलेशन कक्षमा राखिएको डा. झाले बताए ।
कारोना भाइरसको शङ्कामा आइसोलेशनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा ९ चैतमा घर फर्किएका थिए ।७ चैतमा गते दुवईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् । रासस