कैलाली, २ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत संकलन कार्य अघि बढाएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक संकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले सोमबारदेखि अभियान सुरु थालेको छ । यसअघि जानकारीमा आएकालाई क्वारेन्टाइनमा राखिएकामा अब परीक्षणक लागि व्यक्तिहरु खोज्न थालिएको छ ।
लम्कीचुहा नगरपालिकाले ४ सय ८४ जना विदेशबाट आएका नागरिक पत्ता लगाएको छ । जानकी गाउँपालिकामा यस्तो संख्या २ सय ३७ छ । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारबाटै र्यापिड डायग्नोष्टिक टेष्ट सुरु गरिएको लम्कीचुहा नपाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी दियन् ।
‘हामीलाई पाँच सय परीक्षण किट प्राप्त भएको छ, मानिसहरु अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ’ बिसीले भनिन्, ‘लम्कीका दुई नागरिकमा कोभिड १९ सङ्क्रमण देखिएपछि त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिकहरु पनि खोज्न थालेका हौं ।’
धनगढी उपमहानगरपछि ठूलो जनसंख्या भएको टीकापुर नगरपालिकामा खोजी अभियान सुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार १ सय २७ टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेवी गरी २ सय ५४ जना परिचालन गरिएको छ ।
परिचालन गरिएका स्वास्थ्यकर्मी र स्वयंसेवीले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, साबुन पानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । साथै विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड १९ का लक्षण र बच्ने उपायबारे जानकारी गराइने छ ।
तीन दिनभित्र तथ्यांक संकलन गर्ने रणनीतिअनुसार काम सुरु गरिएको संयोजक रावलले बताए । टीकापुरमा विदेशबाट आएकाहरु ३३० जना रहेको जनाइएको छ । तथ्यांक संकलनपछि आरडीटी विधिबाट छिटो परीक्षण गरिनेछ । यहाँ हालसम्म ६० जनाको र्यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।
संक्रमित भेटिएपछि त्रास
सोमबार कैलालीको लम्कीमा थप १ जनामा कोरोनाको संक्रमण फेला परेपछि कैलालीका नागरिक त्रसित भएका छन् । लम्कीमा संक्रमण देखिएकी ६५ वर्षीया महिला १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिन अघि लम्की पुगेकी थिइन् ।
लम्कीचुहा नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । उनीहरु वीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । ती १७ जना मध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको बुझिएको छ ।
क्वारेन्टाइनमा बसेकै बेला त्यहाँ रहेका सबैको र्यापिड टेष्ट गरिएको लम्की चुहा नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको र्यापिड टेष्ट नेगेटिभ आएपनि स्वाबको नमुना परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पोजेटिभ आएपछि ती महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
हालको उनको अवस्गा सामान्य रहेको अस्पतालका चिकित्सक डा. जगदीश जोशीले जानकारी दिए । क्वारेन्टाइनमा बसेकाको र्यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरुलाई पीसीआरको रिपोर्ट नआउँदै चैत्र २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । बाँकी १६ जनालाई समेत पुनः लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ । ती महिलासँग सम्पर्क भएकाहरुको खोजी भइरहेकोे लक्मीचुहा नपाको वडा नं. १ का अध्यक्ष जनक बमले जानकारी दिए । रासस