कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन ।
लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति नपाएपछि भारतीय भूमिमै नेपालीहरु बस्न बाध्य भएका छन् ।
भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्कनका लागि आउने नेपालीलाई भारतको उत्तराखण्ड प्रदेशको वनवसा, टनकपुरलगायत क्षेत्रमा क्वारेन्टाइनमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सीमावर्ती भारतीय बजार बनवसा र टनकपुरमा गरी २३८ जनालाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको छ ।
क्वारेन्टाइनमा बसेका नेपालीको खाने र बस्ने व्यवस्था भारतीय प्रशासनले मिलाएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार ९ वटै स्थानीय तहमा भारतलगायतका अन्य मुलुकबाट गरी ५ हजार ४ सय २२ भित्रिएका छन् ।
भारत, कतार, मलेशिया, युएई र साउदी अरेबियालगायत देशबाट नेपाली भित्रिएका हुन् । भारतबाट भित्रिनेको सङ्ख्या बढी रहेको छ । विदेशबाट भित्रिएकाहरु घरमै क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा क्वारेन्टाइन श्यया ४०६ रहेको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको सङ्ख्या भने २ सय १० रहेको छ ।
आइसोलेटेड श्ययाको सङ्ख्या १९ रहे पनि आइसोलेसनमा कोही पनि बसेका छैनन् । पिपीइ (स्वास्थ्य सुरक्षा उपकरण)को सङ्ख्या १ सय ७१ रहेको छ । हालसम्म ३ स्थानीय तहले सरकारको मापदण्डानुसार ४ सय २० परिवारलाई राहत वितरण गरेका छन् । रासस