काठमाडौं, २० चैत-नेपालमा थप १ जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ । योसँगै नेपालमा ६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी अपडेट दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् ।
छैटौँ केसका संक्रमित पनि चैत ४ गतेको कतार हुँदै नेपाल आएका व्यक्ति रहेको उनले बताए । यसअघि ५ जनामा संक्रमण देखिएकोमा १ जना संक्रमणमुक्त भएका छन् भने अन्यको उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म ११ सय ८४ जनाको कोरोना भाइरस संक्रमणको परीक्षण भएको छ । मन्त्रालयका अनुसार ४३ वटा परीक्षणमै रहेको र रिपोर्ट आउन बाँकी छ । धरान र पोखरामा पनि स्वाव परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।