विराटनगर । मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच व्यावसायिक तथा शैक्षिक सहकार्यका लागि पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
सम्झदारीअनुसार विद्यार्थीलाई इन्टर्नशिप, औद्योगिक भ्रमण, अनुभवजन्य शिक्षा, संरक्षकता र मार्गदर्शनजस्ता अवसरहरू प्रदान गरिनेछ। कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । जसमा संघका अध्यक्ष अनुपम राठी र त्रिविका प्रा.डा. केदार रिजालले हस्ताक्षर गरे।
दुवै पक्षले निजी क्षेत्रमार्फत सीप आधारित रोजगारीको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। संघले ६ सयभन्दा बढी उद्योग संलग्न आफ्ना सदस्य संस्थाहरू र अन्य उद्योग वाणिज्य संघहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्नेछ।
त्रिविले अध्ययन, अनुसन्धान, केस स्टडी, तथ्य संकलन, नीति विश्लेषण लगायतका क्षेत्रमा विद्यार्थी र संकाय सदस्यहरू परिचालन गर्नेछ।
समझदारीअनुसार आवश्यक परे संघले विशेषज्ञता र प्रयोगशालासमेत उपलब्ध गराउनेछ। यस साझेदारीले शिक्षा र उद्योगबीचको सेतु निर्माण गर्दै व्यावहारिक सिकाइ र रोजगारीको सम्भावना बढाउने अपेक्षा गरिएको छ।