विराटनगर । व्यवस्थापन शिक्षाको क्षेत्रमा देशभरकै सर्वोत्कृष्ट शैक्षिक संस्थाका रूपमा चिनिने विराटनगरको मेरिल्याण्ड कलेजले राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार २०२५ प्राप्त गरेको छ।
काठमाण्डौमा आयोजित समारोहमा फोकस नेपालका तर्फबाट पूर्व मन्त्रिपरिषद् अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले मेरिल्याण्ड कलेजलाई सम्मान गरेका छन्। यो सम्मान कलेजको निरन्तर शिक्षा गुणस्तर र राष्ट्रिय योगदानको मान्यताका रूपमा प्रदान गरिएको हो।
विराटनगर–७ रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेज विगत २२ वर्षदेखि निरन्तर रूपमा व्यवस्थापन शिक्षाको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ। कलेजले यस अवधिमा हजारौं योग्य मानव संसाधान तयार गरी राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
यस सम्मानप्राप्तिमा मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले खुशी व्यक्त गर्दै भने, ‘यो सम्मान हाम्रो सम्पूर्ण टिमको कडा मेहनत र निष्ठाको परिणाम हो। सबै विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गर्दछु।’
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले कलेजको योगदानको प्रशंसा गर्दै भने, ‘मेरिल्याण्ड कलेजले शिक्षा तथा विभिन्न सामाजिक सेवामार्फत राष्ट्रप्रति पुर्याएको अद्वितीय योगदान प्रशंसनीय छ। हामी संस्थाको निरन्तर सफलता र सुस्वास्थ्यको कामना गर्दै आगामी दिनहरूमा अझ महत्वपूर्ण योगदानको अपेक्षा राख्छौं।’
यस सम्मानले कलेजलाई थप प्रेरणा प्रदान गरेको छ। कलेजले आगामी दिनहरूमा शिक्षाको गुणस्तर झन् उच्च बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने संकल्प लिएको छ।
मेरिल्याण्ड कलेजले केवल शिक्षाको क्षेत्रमा मात्र नभएर सामाजिक सेवामा पनि महत्वपूर्ण भूमिका खेलेको छ। कलेजका स्नातकहरू देश विदेशका विभिन्न क्षेत्रमा सफल भएर राष्ट्रको गौरव बढाउँदै आएका छन्। यो पुरस्कारले मेरिल्याण्ड कलेजको शैक्षिक उत्कृष्टतालाई राष्ट्रिय स्तरमा मान्यता दिलाएको छ भने कोशी प्रदेशका अन्य शैक्षिक संस्थाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।