विराटनगर । सुनसरीको भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया एक महिला आफ्नै श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएपछि विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत छन् । जेठ ४ गते बिहान कुटपिट भएपछि छिमेकीले उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरेका थिए ।
पीडित महिलाको अनुहारको सबै हड्डीहरू भाँचिएको अवस्थामा अस्पताल ल्याइएको थियो । दन्त रोग विशेषज्ञ डा. सुधीर श्रेष्ठको नेतृत्वमा डा. बन्धना खनाल, डा. विवेक कुमार महत्तो र डा. जितेन्द्र मण्डलको टोलीले जटिल शल्यक्रिया सम्पन्न गरेको हो । डा. श्रेष्ठका अनुसार कोशी अस्पतालमा अनुहारको सम्पूर्ण हड्डीको शल्यक्रिया पहिलोपटक सफलतापूर्वक गरिएको हो ।
पीडित महिला अर्काको घरमा काम गरेर दुई छोराको पालनपोषण गर्दै आएकी थिइन् । उनका १० वर्षका जेठो छोरा हाल अस्पतालमा कुरुवाको रूपमा रहेका छन् । छोराका अनुसार बुबाले काम नगर्ने र सधैं झगडा गर्ने गर्थे । कुटपिट भएको दिन बिहान घर फर्किँदा आमालाई ढोकामा रगताम्य अवस्थामा फेला पारेका थिए ।
घरेलु हिंसाको घटनालाई मध्यनजर गर्दै कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले महिलाको उपचार र कानुनी प्रक्रियामा सहयोग गरिरहेको छ । ओसिएमसीकी प्रतिनिधि अनिता राउतका अनुसार उपचार निःशुल्क गरिएको छ, जुन निजी अस्पतालमा गराउँदा लगभग ६ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
पीडित महिलाको उपचारपछि स्वास्थ्यमा क्रमशः सुधार भइरहेको अस्पतालले जनाएको छ । प्रहरीले ओसिएमसीको रिपोर्टका आधारमा श्रीमानलाई पक्राउ गरिसकेको छ ।