विराटनगर । पूर्वमन्त्री तथा इटहरी उपमहानगरपालिका ९ घर भएका ६० वर्षीय रामकुमार सुब्बासहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ। सुब्बासहित इटहरी ९ घर भएका ५५ वर्षीय गोपाल साह र सोही ठाउँकी २८ वर्षीया सुनिता साहविरुद्ध मोरङ अदालतमा ‘गैरकानुनी शरीर तलाशी तथा बेइज्जती’ मुद्दा दर्ता भएको हो।
इटहरी नगरपालिका ९ घर भएकी तर मोरङको सुनवर्षी नगरपालिकामा माइती घर भएकी २६ वर्षीया एक महिलाले शाही शासनकालका मन्त्री सुब्बासहित तीन जनाविरुद्ध चैत १३ गते मुद्दा दर्ता गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। हाल यो मुद्दा विचाराधीन रहेको छ।
सुब्बासहित तीन जनाले ती महिलाको माइती घरमा पुगेर २१ फागुन २०८१ मा गैरकानुनी शरीर तलाशी तथा बेइज्जती गरेको अदालतमा दायर भएको निवेदनमा उल्लेख छ।
साह पीडित महिलाका ससुरा हुन्। आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलाशी तथा बेइज्जती गरेको आरोप उनको छ।
ती महिलाको २०७९ जेठ ३० गते विवाह भएको थियो। त्यसपछि श्रीमान्सहित परिवारका सदस्यहरूले हैरानी गरी घरबाट निकाल्न थालेपछि पीडित महिलाले अंश मुद्दा दायर गरेकी थिइन्। श्रीमान् र ससुराको बारम्बारको यातनाका कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्याद समेत नबुझेको र गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र ससुरा गोपाल साह आदि माइतीमै आएर दुर्व्यवहार गरेको पीडितको भनाइ छ।
परिवारको यातनाका कारण सम्बन्धविच्छेद र अंश मुद्दा दायर गरेकी महिला माइतीमै बस्दै आएकी थिइन्। उनलाई पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता र पूर्वमन्त्री रहेको भन्दै मुद्दा फिर्ता गर्न दबाब दिएको पीडितको निवेदनमा उल्लेख छ।
सुब्बाले आफूलाई “तिमी महिला नरहेको, महिलाको गुण नरहेको, महिलाको स्वरूप नरहेकाले घरजम नभएकाले हेर्न आएको” भन्दै धाकधम्की दिएको उनले अदालतमा दर्ता गरेको निवेदनमा उल्लेख छ।
माइती घरमा प्रतिवादी सुब्बासहितले आफ्नो लिङ्गप्रति प्रश्न गरेको र “तिमी हिजडा भएका कारण अस्वीकार गरेको” भन्दै अपमान गरेपछि विवाद भएको निवेदनमा उल्लेख छ।
“प्रतिवादी रामकुमार सुब्बाले ‘तिम्रो लिङ्ग हेर्नका लागि हामीले आफ्नै महिला (सुनिता घिमिरे) कर्मचारी ल्याएका छौं। तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ’ भन्दै दबाब दिए,” निवेदनमा पीडितले भनेकी छिन्। …मैले इन्कार गरें। मेरो परिवारले पनि उक्त कुराको इन्कार गर्नुभयो। तर, प्रतिवादी रामकुमार सुब्बाले आफू पूर्वमन्त्री रहेको तथा प्रहरी प्रशासन सबैमा प्रभाव रहेकाले सार्वजनिक रूपमा नाङ्गो पारेर अपमान गर्छौं भन्दै ममाथि र मेरो परिवारमाथि मानसिक र शारीरिक रूपमा दबाब सिर्जना गर्दै जान थाल्नुभयो।Ú
सुब्बासहितले आफ्ना अङ्गहरू हेर्न र महिला, पुरुष वा अन्य तेस्रो लिङ्ग (प्रतिवादीहरूको भाषामा हिजडा) छुट्याउन भन्दै सँगै आएकी सुनिता घिमिरेलाई आदेश दिएको पीडितको भनाइ छ।
उनीहरूको निर्देशनपछि घिमिरेले आफ्नो देब्रे पाखुरामा समातेर जबरजस्ती घरको भान्साको छेउमा लगेर सबै कपडा खोलेर गोप्याङ्गहरू हेरेको उनले बताएकी छिन्। त्यसपछि “हिजडा होइन रहेछ” भन्दै प्रतिवादीहरू फर्किएका थिए।
व्यक्तिगत गोपनीयताको हनन गर्दै आफूमाथि गाली बेइज्जती र अपमान गरेको र आफूले कानुनी रूपमा अंश पाउने हक अधिकारलाई कुण्ठित गर्ने प्रयास गरेको भन्दै उनले कारबाही र क्षतिपूर्तिको माग गरेकी छिन्।