विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ। शनिबारदेखि विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो। तीन जिल्लाको ३२४ खलाडी प्रतिस्पर्धामा बन्चित भएका छ्न। छनोटमा खोटाङ, सुनसरी र सोलुखुम्बुका खेलाडीहरू सहभागिताविहीन बनेका हुन् ।
प्रदेश खेलकुद विकास बोर्डले समयमै जिल्लाहरूमा खेलाडी छनोटका लागि आवश्यक बजेट नपठाएको र समन्वयको अभावले यी खेलाडीहरू खेलकुदको उत्सवमा सहभागिताबाट वञ्चित भएका हुन् । जिल्ला खेलकुद विकास समिति खोटाङका कार्यालय प्रमुख लिलाभक्त केसीले प्रदेश खेलकुद विकास बोर्डले जेठ १५ गते खेल सम्पन्न गर्न भनेर पत्र पठाएको बताए । तर बजेट नदिएकोले खेलाडी छनोट गर्न असम्भव भएको उनले बताए । ‘पहाडी जिल्लाहरूबाट खेलाडी छनोट भएपनि विराटनगर आइपुग्न समय लाग्छ । प्रदेशले बजेट नदिएर कसरी खेल गराउने ?, उनले भने, ‘प्रदेश खेलकुद विकास बोर्डले समयमै बजेट नहाल्दा खेलाडी छनोट गर्न नसकिएको हो ।’
सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राईका अनुसार प्रदेश खेलकुद विकास बोर्डले जेठ २० गते पत्र पठाएर २४ गतेदेखि हुने प्रदेश छनोटमा सहभागिता जनाउन आग्रह गरेको थियो । ‘एक दिनअघि पत्र पठाएर दुई दिनभित्रमा जिल्ला छनोट गर्न भनिएको थियो, यस्तो छोटो समयमा कसरी सम्भव हुन्छ ?’ राईले भने, ‘त्यसमाथि तयारी खर्च समेत समयमा पठाएको छैन ।’
प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, खेलकुद लगायतको क्षेत्रमा समेत पर्याप्त लगानी भए चौतर्फी विकास हासिल गर्न सकिने बताए ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले प्रदेश सरकारको आगामी बजेट खेलक्षेत्र र खेलाडीलाई प्राथिमिकतामा राखेर निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री राईले यसो भनिरदा उनकै गृहजिल्ला खोटाङका खेलाडी भने प्रतियोगितामा सहभागि भएनन् ।
त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति रनिङ शिल्डमा विजयी हुने खेलाडीको बोर्डले उचित सम्मान गर्ने बताए ।
बस्नेतले प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी नभएको सोलुखुम्बु, सुनसरी र खोटाङलाई प्रतियोगितामा खेलाडीको सहभागी हुने अधिकार सुनश्चित गर्न असफल भएको भन्दै सो जिल्लाका जिल्ला खेलकुद विकास समितिलाई आवश्यक कारबाही हुने समेत बताए ।
छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा झन्डै १ हजार खेलाडीको सहभागिता रहेको छ। छनोट प्रतियोगितामा विजयी खेलाडीहरूले जेठ २८ देखि ३० सम्म काठमाडौँमा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।