विराटनगर । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सुरु गरेको ‘म झोले हो’ अभियानले पार्टीभित्र तीव्र विवाद निम्त्याएको छ। पार्टी नेतृत्वले औपचारिक निर्णय नगरेपनि ओलीको पहलमा सुरु भएको यस अभियानप्रति शीर्ष नेतादेखि लिएर कार्यकर्ता सम्मकै आलोचना बढेको छ।
ओली पछ्याउँदै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरूले ‘म झोले हो’ लेखिएको पोष्टर सामाजिक सञ्जालमा सेयर गरेका छन्। पार्टीले अनौपचारिक रुपमा सबै नेता कार्यकर्तालाई अभियानमा सरिक हुन भनेको बताइए पनि बहुसंख्यक नेता तथा कार्यकर्ताले अभियानको विरोध जनाएका छन्।
मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले फेसबुकमा “हामी त वामपन्थी हो, झोले सोले होइन” भन्दै आलोचना गरेका थिए। यद्यपि, पार्टीकै दबाबपछि उनले उक्त स्टाटस हटाएका छन्। मगरले व्यक्तिगत रूपमा आफू अभियानको विपक्षमा रहेको बताएका छन्।
त्यसैगरी मोरङका कानेपोखरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष शुशील बुढाथाकीले ‘म एमाले’ लेखेर सांकेतिक विरोध जनाएका छन्। केरावारीका एमाले अध्यक्ष भीम कार्कीले झोले अभियान अनावश्यक भएको बताउँदै, नेताको सबै कुरा अन्धपछ्याउनु नै असल कार्यकर्ताको चिन्ह होइन भन्ने तर्क गरेका छन्।
एमालेका बेलबारी नगर उपाध्यक्ष उदयबहादुर राई राजुले नेताकै कारणले गणतन्त्र संकटमा परेको टिप्पणी गर्दै, “गल्ती नेताले गर्छन्, झोले बन्नुपर्ने कार्यकर्तालेरु” भन्दै गुनासो पोखेका छन्। उनका अनुसार नेताहरूको व्यवहारकै कारण लोकतन्त्र कमजोर भइरहेको छ।
कोशी प्रदेशका पूर्वसांसद विमल कार्कीले ‘झोले र चम्चेहरू’ बोलको गीत सेयर गर्दै व्यंग्य प्रकट गरेका छन्। पार्टी नेतृत्वको आलोचना गरेपछि उनलाई प्रदेश कमिटीले ६ महिनाका लागि निलम्बन गरिसकेको छ।
पार्टी अध्यक्ष ओलीले सुरु गरेको अभियान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुरानो ट्रेन्डको नक्कल भएको टिप्पणी पनि पार्टीभित्रैबाट उठेको छ। एमालेभित्र फरक मत र आलोचना निषेधको प्रवृत्ति मौलाउँदै गएको बेला झोले अभियानले नेतृत्वमाथि असन्तुष्टि झनै बढाएको देखिन्छ।
‘झोले’ शब्द नेपाली राजनीतिमा नेताको अन्धभक्त, जयजयकार मात्रै गर्ने व्यक्तिको रुपमा बुझिने भए पनि ओलीले त्यसलाई ‘ब्राण्ड’ बनाउन खोजेको विश्लेषकहरूको भनाइ छ। कतिपयले यसलाई ओलीले आफैं आफ्नो नेतृत्वशैलीको स्वीकारोक्ति दिएको व्यंग्यका रुपमा लिएका छन्।
पार्टीभित्र ओलीनिकट सीमित नेता तथा कार्यकर्ताले मात्रै अभियानमा सक्रियता देखाएका छन्। कोशी प्रदेशका स्थायी समिति सदस्य राजेन्द्र गौतम र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मात्र झोले पोष्टर बनाएका छन्। प्रदेश इञ्चार्ज शेरधन राई, उपाध्यक्षहरू गुरु बराल, रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेजस्ता नेताहरू भने अभियानमा सामेल छैनन्।
एमाले मोरङका अध्यक्ष अजम्बर राईले झोले अभियानबारे नेतृत्वलाई सोध्न सुझाव दिएका छन् भने उपाध्यक्ष सागर थापाले आफू समाज र विकास अभियानको झोले भएको प्रतिक्रिया दिएका छन्। थापा पार्टीको संस्थापन इतर पक्षका नेता मानिन्छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट नेताहरूले समेत अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष विरोध गरेका छन्। धेरैजसो नियुक्तिवालाहरू या लाभको पदमा रहेका कार्यकर्ताले पार्टीको दबाबका कारण झोले पोष्टर राख्नुपरेको स्वीकार गरेका छन्।
पार्टीभित्र आलोचना र गुटगत कित्ताकाट चुलिँदै गएको बेला सुरु गरिएको यो अभियानले थप विवाद र असन्तुष्टि सिर्जना गरेको देखिएको छ।