विराटनगर । युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउँदै विदेश पलायनलाई रोक्न सरकारको उद्योगमैत्री नीति आवश्यक रहेको सुझाव कोशी प्रदेशस्तरीय सम्मेलनका सहभागीहरूले दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को आयोजनामा मोरङमा सम्पन्न “कोशी प्रदेशस्तरीय युवा उद्यमशिलता प्रवर्द्धन सम्मेलन–२०८२” मा वक्ताहरूले युवालाई सीपयुक्त बनाउँदै उद्यमशीलताको बाटोमा अग्रसर गराउनुपर्नेमा जोड दिएका हुन्।
सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले युवा विदेश पलायन रोक्न देशमै रोजगारी सृजना गर्नु पर्ने आवश्यकता औल्याए । ‘युवाहरू श्रमिकको रूपमा विदेश जानु भन्दा आफ्नै देशमा उद्यमी बन्ने वातावरण बनाइनुपर्छ, मन्त्री राईले भने । उनले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिँदै उत्पादन वृद्धि र आयात प्रतिस्थापनका लागि आवश्यक ब्याज अनुदान प्रदान गरेको उल्लेख गर्दै कृषिमा उद्यमशील बन्न युवालाई आग्रह गरे ।
कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, प्रदेश सभासद गोम्बु शेर्पा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल साना तथा घरेलु उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, परिषद्का सदस्य शुसिल शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले युवा लक्षित उद्योगमैत्री नीति निर्माण गरेर देशमै रोजगारी सिर्जना गर्नुपर्ने सुझाव प्रस्तुत गरे।
सम्मेलनमा कोशी प्रदेशका १४ जिल्लाबाट प्रतिनिधित्व गर्ने युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जानकारी दिएका छन्। सम्मेलनको उद्देश्य युवा उद्यमशीलता प्रवर्द्धन गर्दै दीगो रोजगारीका अवसर सिर्जना गर्नु रहेको बताइएको छ।