विराटनगर । कुकुर बन्ध्याकरणको लागि राज्यले मापदण्ड बनाउनुपर्ने सहारा एनमिल केयरले माग गरेको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर यस्तो माग राखेका हुन् ।
भारत र बिकसित मुलुकलहरुमा कुकुरको बन्ध्याकरणको लागि मापदण्ड बनाए पनि नेपालमा अहिलेसम्म कुनै पनि मापदण्ड तय नभएको भन्दै सहारा एनिमल केयरकी संस्थापक डा. रश्मी थापाले बताइन् । उनले कुकुर बन्ध्याकरणको लागि स्थानीय तहदेखि संघीय सरकारले मापदण्ड बनाउन जरुरी भएको बताइन् । ‘अहिले मापदण्ड नहुँदा बन्ध्याकरण गरिएको कुकुरलाई २ घण्टाभित्रमा छोड्ने गरेको पाइएको छ,’ उनले भनिन्, ‘यो तरिका गलत हो । विश्व स्वास्थ्य संगठनको नियम अनुसार पनि बन्ध्याकरण गरिएको कुकुरलाई ४८ घण्टासम्म स्वास्थ्यकर्मीहरुको निगराखीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, यहाँ विराटनगरमा बन्ध्याकरण गरेको २ घण्टामा छोडने गरेको पाइएको छ । यो गलत तरिका हो । त्यसैले बन्ध्याकरणको लाग स्थानीय तह, प्रदेश र संघीय सरकारले एउटा मापदण्ड तयार गर्न जरुरी छ ।’
यस्तै, डा. थापाले महानगरले सञ्चारकर्मीमार्फत् दिएको प्रतिक्रिया र विभिन्न अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै ती भ्रामक र एकतर्फी भएको बताएकी छन् । उनले ३ वर्षअघिको कार्यक्रमको फोटो प्रयोग गरी हालको विषयसँग जोडेर संस्थाको छवि बिगार्ने प्रयास भएको आरोप समेत लगाइन् । ‘काम गरिरहेकालाई हतोत्साहित गर्न खोजिएको छ’, उनले भनिन् ।
जेठ ९ गते विराटनगर–१९, मिलन चोकमा महानगर र हिमालयन एनिमल रेस्क्यु ट्रस्ट पोखराको समन्वयमा सञ्चालित बन्ध्याकरण शिविरमा लापरवाही भएको स्थानीयको सूचनाका आधारमा उनीहरू पुगेका थिए ।
सुरक्षाको मागसहित जनावरप्रति उत्तरदायी हुन अनुरोध गरेपछि कार्यक्रम केही समयका लागि स्थगित गरिएको थियो । तर सोही दिन ५६ वटा कुकुरको शल्यक्रिया सम्पन्न गरिएका उनले बताइन् ।
उनका अनुसार स्वास्थ्य मापदण्ड पालना नभएको, कुकुरलाई होस आउन १६–२० घण्टा लाग्ने जस्ता विषयमा चासो राख्दा पनि समन्वय नहुने अवस्था देखिएको थियो ।
सोही विषयमा जेठ १० गतेको छलफलमा सहारा एनिमल केयरका प्रतिनिधिलाई बोल्न नदिइएको र मेयर नागेश कोइराला र कर्मचारीले रुखो व्यवहार गरेको आरोप उनीहरुको छ । ‘हामीले प्रतिरोध गरेको होइन, जनावरको जीवनको सुरक्षाका लागि कुरा गरेका हौं तर प्रतिक्रिया दिन समेत अवसर दिइएन,’ उनले भनिन् ।
महानगरबाट अपेक्षित सहयोग नपाएको अवस्थामा एनएमबी बैंकको सहकार्यमा सहाराले १ सय ५० वटा कुकुरको निःशुल्क बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको थापाले जानकारी दिइन् ।
‘हामीले कुकुरको जीवन, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं’ उनले भनिन् ‘हाम्रा सबै कार्यक्रम पशुहितमै केन्द्रित छन् ।’ उनले पशु सेवा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा स्पष्टता आवश्यक रहेको धारणा समेत राखेकी छन् ।