विराटनगर । विराटनगरमा नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा चलचित्र निर्माण सम्बन्धी ३ दिने कार्यशाला–२०८२ बिहीबारदेखि सुरू भएको छ।
चाँदनी फिल्म विराटनगरको आयोजना र चलचित्र विकास बोर्ड काठमाडौंको सहकार्यमा आयोजित यस कार्यशालाको उद्घाटन कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री रेवती रमण भण्डारीले गरेका थिए।
साहित्यकार एवं गजलकार मधु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा चाँदनी फिल्मका अध्यक्ष केशब रायमाझीले साहित्यकार र चलचित्रकर्मीबीचको प्रगाढ सम्बन्ध स्थापना गर्न यो कार्यशाला सहयोगी हुने बताए। उनले साहित्यको सानो दायरालाई ठूलो दायरामा पुर्याउन चलचित्रले मद्दत गर्ने टिप्पणी गरे।
प्राध्यापक रमेश दाहालले साहित्य र चलचित्रका विविध आयामबारे आख्यान दिँदै साहित्यकारलाई चलचित्रमा कसरी लेख्ने भनेर यस कार्यशालाले सिकाउने बताए। उनले साहित्य र चलचित्रको सम्बन्ध समाजसँग भएकोले दुवैले सामाजिक मूल्यमान्यता, विकृति र विसङ्गति तथा समाज रूपान्तरणको सवाललाई गहनताका साथ उठाउने गरेको बताए।
प्रशिक्षक विजय सुब्बाले चलचित्रमा प्रयोग हुने भाषा साहित्यमा प्रयोग हुने भाषाभन्दा फरक भएपनि सन्देश एउटै हुने बताए।
मन्त्री भण्डारीले कोशी प्रदेश सरकार साहित्य र चलचित्रको विकासका लागि दृढ रहेको बताउँदै यी क्षेत्रको उन्नयनका लागि सरकार गम्भीर रहेको बताए।
कार्यक्रममा चलचित्र क्षेत्रमा दीर्घकालीन योगदान गरेका निर्देशक सन्तोष सरकार, गायक दिनेश राई र नृत्य निर्देशक कविता भुषाललाई सम्मानित गरियो। गायक नितिन गजुरेल र रामा मण्डलले गीत गाएका थिए भने स्थानीय कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। आधा दर्जन साहित्यकारहरूले आ(आफ्ना सिर्जना वाचन समेत गरेका थिए।