विराटनगर । नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध विस्तारका लागि झापाको मेचीनगरमा नेपाल–भारत युवा सम्मेलन आयोजना हुने भएको छ । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले जेठ २५ गते एक दिने सम्मेलनको आयोजना गर्न लागेको हो ।
नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष शुभम् भट्टराईले बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस सम्मेलनको मुख्य उद्देश्य नेपाल र भारतबीचको व्यापार विस्तार भएको जानकारी दिए । ‘यो सम्मेलनले दुई मुलुकबीचको आर्थिक सहयोग र व्यापारिक सम्बन्धलाई थप बलियो बनाउने छ ,’ उनले भने । सम्मेलनमा नेपाल र भारतका गरी ५ सयभन्दा बढी युवाहरूको सहभागिता रहने अध्यक्ष भट्टराईले बताए । यी युवा उद्यमीहरूले पर्यटनदेखि व्यापार विस्तारसम्मका विषयमा छलफल गर्ने छन ्। सम्मेलनको मुख्य लक्ष्य दुई देशबीचको व्यापारिक अवसर पहिचान गरी युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन दिनु रहेको छ ।
नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य यूनेशराज श्रेष्ठले सम्मेलनमा नेपाल युवा उद्यमी मञ्चका ११ च्याप्टरका युवाहरू सहभागी हुने जानकारी दिए । उनले भने, ‘यस सम्मेलनले नेपाली युवाहरूलाई भारतीय बजारमा पहुँच बनाउन र भारतीय युवाहरूलाई नेपाली बजार चिनाउन मद्दत गर्नेछ ।’
सम्मेलनमा व्यापार, पर्यटन, प्रविधि र कृषिजन्य उत्पादनका क्षेत्रमा सहयोग बढाउने विषयमा विशेष जोड दिइने छ । यो पहल नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक क्षेत्रमा रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।