विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ठूलो परिमाणमा भारत तस्करी हुन लागेको गाँजा बरामद गरेको छ। आज बिहानको राति इप्रका रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको नेतृत्वको टोलीले तीन सय केजी गाँजा बरामद गरेको हो।
बिहानको राति ३ :१५ बजे सुनवर्षी नगरपालिका ७ बक्रा खोला स्थितबाट मानिसहरूले लागूऔषध गाँजा ओसारपसार गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
गाँजा बरामदमा खटिएको संयुक्त प्रहरी टोलीमा इप्रका रंगेलीबाट प्रहरी निरीक्षक बोगटी, प्रचौ सिक्टीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र कटुवाल, प्रहरी चौकी बरडंगाबाट प्रहरी सहायक निरीक्षक दीपक काफ्ले र प्रहरी चौकी झपडतलबाट प्रहरी सहायक निरीक्षक सरोजमणि नेपालको सहभागिता रहेको थियो।
बक्रा खोला किनारबाट गाँजा तस्करी भएर भारत लैजान खोजेको जानकारी आएपछि प्रहरी टोली परिचालन भएको थियो। प्रहरीले गाँजा बरामद गरे पनि गाँजा ल्याउने व्यक्ति भने पक्राउ गरेको छैन। उनीहरूको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ।