विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुटमिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरानले पथरीशनिश्चरे भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
निर्धारित समयमा दुवै टिमबीच १–१ गोलको बराबरी भएपछि विजेताको फैसला टाइब्रेकरमार्फत गरिएको थियो। प्रतियोगिताको प्लेयर अफ द म्याचको उपाधि हाम्रो धरानका विकाश लामाले हात पारे। उनले नगद १ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।
विजयसँगै धरानले बिहीबार हुने अन्तिम सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा भेट्रान्स क्लबबीचको विजेता टिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारस्वरूप पाउनेछन्।