विराटनगर — कोशी प्रदेश सरकारले प्रदेशसभाको बर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।
बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने र कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
साथै कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२ स्वीकृत गर्ने निर्णय भएको छ। बैठकले वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलनलाई भव्यतापूर्वक सफल बनाउन योगदान दिनेहरूलाई हार्दिक धन्यवाद दिने प्रस्ताव पास गरेको छ।