विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन आजदेखि सुरू हुँदैछ । एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले उक्त अधिवेशन उद्घाटन गर्नेछन् । अधिवेशन नजिकिएसँगै आकांक्षीहरू चुनावी तयारीमा जुटेका छन् । संस्थापन पक्षबाट वर्तमान संगठन कमिटी अध्यक्ष रहेका रोहित कोइरालाले आइतबार विराटनगरमा आफू निकटका नेता कार्यकर्ताहरू उपस्थित गराएर अध्यक्षको घोषणा गरेका छन् ।
यता इतरपक्ष एमाले विराटनगरको वर्तमान सचिव बलराम गिरीले पनि अध्यक्षसहित प्यानल घोषणा गरेका छन् ।
कोइराला पक्षले उपाध्यक्ष बाहेक सचिव र दुई उपसचिवका उम्मेदवार भने टुंगो लगाएको छ ।
कोइराला समूहबाट उपाध्यक्षमा विराटनगर ८ का वडाअध्यक्ष राम पोखरेल, सचिवमा विराटनगर–४ का वडा कमिटी अध्यक्ष नवराज काफ्ले, उपसचिवमा चन्द्रशखेर विश्वास, उपसचिव (महिला) मा कला डाँगीलाई अघि सारिएको छ ।
गिरीको समूहबाट उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विराटनगर २ का वडाअध्यक्ष विज्ञान शर्मा चपागाइ, उपसचिवमा हमित हाजाज र महिला उपसचिव हिमा मैनाली उम्मेदवारी रहेकी छिन् ।
एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा संस्थापन पक्षलाई विनोद ढकाल र सागर थापाको समर्थनमा रहेको टोलीले पराजित गरेको थियो ।
जिल्लाको परिणाम आफ्नो पक्षमा पार्ने मुख्य ‘फ्याक्टर’ को रुपमा ढकाल टिमले विराटनगर महानगरकै पार्टी संगठनलाई हेरेको सो पक्षका कार्यकर्ताहरूको बुझाइ छ । यस्तो अवस्थामा हुन लागेको महानगर कमिटीको दोस्रो अधिवेशन पनि जिल्ला अधिवेशनकै ‘लाइन’ मा अघि बढ्ने रोहित कोइरालाको आइतबारको उम्मेदवारी घोषणाले स्पष्ट संकेत गरेको छ ।
एमाले महानगर कमिटीको दोस्रो अधिवेशनमा १९ वटा वडाबाट २२० जना प्रतिनिधि प्रत्यक्ष रुपमा चुनिएका छन् । त्यस्तै जनसंगठनहरूबाट ७९ जना प्रतिनिधि चयन भएको जनाइएको छ । थप १५ जना प्रतिनिधि मनोनित गरेर जम्मा ३१५ मतदाता हुनेछन् ।
हालसम्म मोरङमा १२ वटा पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ भने ४ वटा पालिकाको मिति तोकिएको छ । एक मात्र पालिका, लेटाङ नगरपालिकाको अधिवेशन भने अन्योलमा परेको छ ।