विराटनगर । विवादित मेडिकल कलेज सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशरण महतमाथि अनुसन्धान गर्नुपर्ने चर्को अभिव्यक्ति दिँदै आएका शर्मालाई बिहीबार प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गरेकोले शर्मालाई पक्राउ गरेको भन्दै उनीनिकटले प्रचार गरिरहेका छन् । तर, सिआईबीले भने नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बताएको छ ।
सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको आईएस्सीको प्रमाणपत्र नक्कली भएको पाइएको थियो । त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । सीआईबीको अनुसन्धानका क्रममा भारतबाट उनले लिएको प्रमाणपत्र नक्कली भएको जवाफ प्राप्त भएसँगै कीर्ते प्रकरण पुष्टि भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले पनि सांसद शर्मालाई कीर्ते अभियोगमा पक्राउ गरिएको पुष्टि गरे ।
शर्माविरुद्ध नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा पुरानै हो । २०७३ सालमा सिआईबीका तत्कालिन प्रमुख नवराज सिलवालको नेतृत्वमा नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध ‘क्वाक अपरेसन’ सञ्चालन भएको थियो । सो क्रममा शर्मालाई पक्राउ गर्न सिआईबीले खोजी गरेको सूचना पाएपछि उनी लामो समयसम्म जापान र दुबईमा लुकेर बसेका थिए ।
भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।
शर्माको पुख्र्यौली घर मोरङ्गको लेटाङ हो । लेटाङमा माध्यमिक तह पढ्दा राजेन्द्र न्यौपाने नाम गरेका उनी त्यहाँ एसएलसी फेल गरेपछि कालीकोट जिल्ला गएका थिए । उताबाट फेरि ९ कक्षादेखि अध्ययन गरेर एसएलसी प्रथम श्रेणीमा पास भएर फर्किदा उनी सुनिल शर्मा भएका हुन् ।
हाल उनी नेपाली कांग्रेस महासमिति सदस्य रहेका छन् । उनलाई नेपाली कांग्रेसले २०७४ मा प्रतिनिधिसभा चुनावमा मोरङ –३ बाट उम्मेदवार बनाएको थियो । उनी तत्कालीन एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालासँग निकट सम्बन्ध रहेका उनले २०७९ मंसिरमा भएको निर्वाचनमा ढकाललाई नै पराजित गरे ।
विराटगर कञ्चनबारी ४ स्थित नोबेल मेडिकल कलेजमा शर्माको प्रवेश र नोबेलको स्वामित्व उनको एकल कब्जामा आउनुको पछाडि पनि लामो विवादित कहानी छ । २०५५ सालमा काठमाडौंमा नोवल एकेडेमी र नोवेल इन्ष्टिच्युट सञ्चालन गरिरहेका नवराज पाण्डे, रविन दहाल, उमेश पाण्डे आदित्य खनाललगायले मिलेर मेडिकल कलेज खोल्ने तयारी गरेका थिए ।
मेडिकल कलेजको सपनालाई मुर्तरुप दिन उनीहरुले विराटनगरका डा।ज्ञानेन्द्र गिरीलाई सहयोग मागे । २०५७ मा गिरिसमेत संलग्न भएपछि कञ्चनवारी पछाडि रहेको १५ विगाहा ९ कठ्ठा जग्गा प्रतिविगाहा १२ लाख रुपैयाँका दरले उनीहरुले काँग्रेस नेता चुमनारायण तबदारसँग खरिद गरे ।
कलेजका लागि जग्गा किनिसकेपछि कलेज दर्ता गर्न कम्पनी बनाउने तयारी भयो । डा।गिरीको अध्यक्षतमा कम्पनीको बिधान तयार भयो । अध्यक्ष डा।गिरी र नवराज पाण्डे मेनेजिङ डायरेक्टर बने । कम्पनी दर्ता भएपछि अस्पतालको भवन निर्माण सुरु भयो । तर, मेडिकल कलेजले सञ्चालन अनुमति पाएको थिएन ।
शाही शासनको बेला थियो । तत्कालिन शिक्षामन्त्री हरिबहादुर बस्नेतले कम्पनीको फाईल रोकिदिएपछि सञ्चालकहरुले विराटनगरका पूर्वप्रधानपञ्च रामकृष्ण भट्टराईको सहयोग मागे । रामकृष्णले आफूलाई पनि शेयर सदस्य बनाउने भए सहयोग गर्ने सर्त राखेपछि नाबेल टिमसँग विकल्प थिएन । उनीहरुले रामकृष्णलाई पनि शेयर सदस्य बनाए ।
कलेज सञ्चालनको लागि एकतले भवन बनिसकेको थियो । डा।गिरीको पहलमा कोशी अञ्चल अस्पतालले नोवेललाई दुई वर्ष प्राक्टिस चलाउन दिने सहमति पनि गरिसकेको थियो । तर, स्वास्थ्य मन्त्रालयले अनुमति रोकिदियो ।
त्यसपछि तात्कालिन स्वास्थ्य सचिव लोकमानसिंह कार्कीसँग नोबेल टिम पुग्यो । कार्कीले विराटनगर पोखरियामा रहेको भुपालमानसिंह ग्राममा रहेको आफ्नो घर भाडामा लिने सर्तमा अनुमति फुकुवा गरिदिने बचन दिए । नोबेलले कार्कीको घर महिनाको १ लाख रुपैयाँ तिर्नेगरी भाडामा लिएर केन्द्रिय कार्यालय स्थापना गर्यो ।
कलेज अगाडि बढ्ने आशमा रहेका नोबेलका सञ्चालक अर्को समस्यामा परे । नेपाली काँग्रेसका केहि नेताको दबाबमा कोशी अञ्चल अस्पतालसँग भएको सम्झौता खारेज भयो । कलेजले विद्यार्थी भर्ना लिइसकेको बेला सम्झौता खारेज भएपछि सञ्चालकहरु आत्तिएका थिए । शाही शासनको अन्त भएपछि कलेज सञ्चालनको काम अबरुद्ध नै भयो ।
नयाँ सरकारले बनेपछि मेडिकल कलेजले विश्वविद्यालयबाट सम्बन्धन लिनुपर्ने प्राबधानसहितको कानून बन्यो । नोबेल सञ्चालकले धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रहेका रहेका डा।शेखर कोइरालामार्फत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग जोडिन चाहे । त्यसमा सहयोगी बनेर सुनिल शर्मा भित्रिए ।
तत्कालिन सञ्चालकहरुका अनुसार शर्माले सम्बन्धन दिलाईदिने आश्वासन दिएपनि त्यसवापत आफूलाई शेयर सदस्य बनाउन माग गरेका थिए । त्यसमा शेखरको पनि साथ थियो । डा।शेखरले पनि सुनिललाई शेयर दिएमा सम्बन्धन सहज हुने बताएपछि उनलाई विनालगानी ११ प्रतिशत शेयर दिएर भित्र्याएको डा।गिरीले केहि समय अगाडि सार्वजनिक गरेका थिए ।
नोबेल टिमले शर्मालाई मात्र शेयर दिएर सम्बन्धन पाएन । तत्कालिन शिक्षामन्त्री रहेका काँग्रेस नेता आमोद उपाध्यायले पनि छोरा संजिव उपाध्यायलाई शेयर सदस्य बनाए मात्र सम्बन्धन दिने अडान राखे । करोडौं लगानी गरिसकेका डा।गिरीसहित सञ्चालकहरुसँग अर्को विकल्प नभएपछि उनीहरुले दुबैलाई शेयर सदस्य बनाएका थिए ।
त्यसपछि आमोदकै पहलमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षमा बालुवाटारमै बसेको काठमाडौं विश्वविद्यालयको बैठकले नोबेललाई सम्वन्धन दिने निर्णय गरेको थियो । नोबेलले सम्बन्धन पाएपछि चतुर शर्माले सञ्चालक नवराज पाण्डेसँग निकट सम्बन्ध बनाएर कम्पनीको निर्देशक नियुक्ति पाए ।
कलेजका अध्यक्ष गिरीले शार्मालाई नरुचाएको भएपनि पाण्डे भने शर्मालाई साथ लिएर अगाडि जाने पक्षमा थिए । जसको कारण सञ्चालकहरुबीच नै मनमुटावको अवस्था बनेको थियो ।
नोबेल छिरेलगत्तै शर्माको छलकपट सुरु भएको डा। गिरी सम्झन्छन् । उनले कम्पनीमा शेयर किन्न काठमाडौको बानेश्वरमा रहेको जग्गा पास गरिदिएका थिए । तर, उनकी आमाले् आफ्नो जग्गा भन्दै मुद्दा हालेर बेचविखनमा रोक लगाईदिइन् । त्यसपनि शर्माले गिरीविरुद्ध पाण्डेलाई अध्यक्ष बन्न उचाल्न थाले । विवादपछि डा।गिरी अस्पताल जानै छाडेका थिए ।
कलेज सञ्चालनमा आएको थियो । त्यसबीच आदित्य शर्मा खनाल कलेजमा नयाँ शेयर सदस्यका रुपमा प्रवेश गरे । खनालले सञ्चालकबीच विवाद मिलाउने प्रयास गरे । शर्माको कारण समस्या भएको देखेपछि उनले शर्मालाई सञ्चालक समितिबाट हटाउने सहमति जुटाए ।
त्यसपछि पाण्डेले कम्पनी रजिष्टारको कार्यालयमा शर्मा विरुद्ध उजुरी गरे । विनालगानी कलेजको ११ प्रतिशत शेयरको मालिक बनेका उनलाई कम्पनी रजिष्ट्रारको कार्यालयले ६० दिनभित्र कम्पनीको सवै शेयर फिर्ता गर्न निर्देशन दिएको थियो ।
त्यहीबेला कम्पनीको सेयर फिर्ता गर्न कागजात तयार गर्नुपर्ने भन्दै शर्माले अध्यक्ष डा।गिरी, निर्देशक पाण्डे, सञ्चालक आदित्य खनाल, उमेश पाण्डे र जग्गु रिजाललाई काठमाडौं बोलाए । २०६४ मंसिर १८ गते काठमाडौं विमानस्थलमा ओर्लनसाथ उनीहरुको अपहरण भयो ।
अपहरणकर्ताले कुटपिट गर्दै कलेजका सञ्चालकहरुबाट सबै कागजात र नगद कव्जामा लिएका थिए । उनीहरुमाथि ज्यानमार्ने धम्की दिईयो । अपहरण सुनिल शर्माले नै गराएका थिए । माओवादीको युवा संगठन वाईसिएलका तत्कालिन उपत्यका इञ्चार्ज सागर थापालाई प्रयोग गरेर उनीहरुको अपहरण गरिएको थियो ।
अपहरणमा परेका सञ्चालकहरु सुनिललाई हटाउने हैन आफैं कम्पनी छाड्ने व्यहोराको कागजमा सही गर्न बाध्य भए । अपहरण काण्डमा शर्माविरुद्ध जाहेरी परेपछि उनी भुमिगत जस्तै भए । तर, काँग्रेस नेताको संरक्षणमा उनी खुला भए । उनीमाथि कुनै कार्वाही भएन ।
त्यसबेला माओवादी अध्यक्ष प्रचण्ड र नेता डा।बाबुराम भट्टराईले घटनामा माफी माग्दै दोषीलाई कार्वाही गर्न माग गरेका थिए । त्यही बेला डिफेन्स आर्मीको आवरणमा कलेजका निर्देशक नवराज पाण्डेका भाई रमेश पाण्डेको अपहरण भयो । उनलाई २८ दिनसम्म भारतमा लगेर बन्धक बनाइयो । कलेजको सबै शर्माले कागजात आफ्नो नाममा पारिसकेपछि मात्र पाण्डे रिहा भएका थिए ।
त्यसबेला नोबेलका सञ्चालकहरुको घर र कलेजमा श्रृंखलाबद्ध बम विस्फोटका घटना हुनथाले । त्यसको जिम्मा अतिहिन्दुवादी भनेर चिनिएको संगठन डिफेन्स आर्मीका कमाण्डर आरपी मैनालीले लिने गरेका थिए । मैनालीसँग साँठगाँठ गरेर शर्माले विष्फोट गराएको प्रहरी अनुसन्धानले देखाएको थियो ।
विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले डिफेन्स आर्मीका सुप्रिम कमाण्डर आरपी मैनाली, उपकमाण्डर त्रिभुवन यादव, सुनिलका सहयोगी रहेका नोवेलका कर्मचारी काशी चुँडाल र राजेश चौधरीलाई पक्राउ गरेको थियो । तर, शर्मा भने उच्च राजनीतिक संरक्षणकै कारण पक्राउ परेनन् ।
त्यसबेला आरपी र शर्माबीच भएको फोन वार्तामा शर्माले लाखौं रकम दिन बाँकी रहेको भन्दे आरपीले ताकेता गरेको जिकिरसहितका सूचना बाहिर आएका थिए । आफ्नो काम फत्ते भएपछि शर्माले नै आफ्ना सहयोग चुँडाललाई पक्राउ गराएर मैनालीलाई पनि पक्राउ गराएको खुलेको थियो ।
लगातारका घटनापछि नोबेल कलेज बन्द प्रायः भयो । अस्पतालमा विरामीहरु आउन छाडे । सञ्चालकको विवाद र अपरणकाण्डले गर्दा बद्नाम भएको नोवेल कर्मचारीहरुले तलब नपाएको भन्दै आन्दोलन चर्काउन थालेका थिए । विद्यार्थीहरु भविष्य धरापमा परेको भन्दै कलेज सञ्चालन गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै धर्ना र जुलुस गर्न बाध्य भए ।
संकटमा परेपछि सञ्चालकहरुले नोवेल कम्पनी बेच्ने मनस्थिति बनाए ।तर, कसैलाई पनि कम्पनी किन्न दिईएन । त्यसपछि सञ्चालकहरुले बाध्य भएर कलेज शर्मालाई नै किन्न आग्रह गरे । तर, उनले पनि किन्न मानेनन् । बरु, तत्काल आपूmलाई सञ्चालन गर्ने जिम्मा दिएमा पछि शेयर फिर्ता गर्ने सर्त राखे ।
कलेजमा विद्यार्थी र कर्मचारीहरुको निरन्तर आन्दोलन र व्यापारीहरुलाई तिर्नुपर्ने बक्यौता रकमको बोझले वाक्क भएर सञ्चालकहरुले तत्काल शर्मालाई कलेज चलाउन दिन तयार भए । शेयरको रकम पछि फिर्ता लिने सहमतिमा कलेज जिम्मा लगाए ।
कलेजको जिम्मा पाएपछि शर्माले विराट नर्सिङ होमका सञ्चालक डा।ज्ञानेन्द्र कार्कीलाई ५० प्रतिशत शेयरसहित नोवेलमा भित्र्याए । डा।कार्कीसँग कलेज चलाउन पुँजी र बुद्धि दुबै थियो । कार्कीले लगानी गरेपछि कलेज सञ्चालन भयो । डा।कार्कीले नोवेललाई नमुना अस्पताल बनाउने योजना अगाडि ल्याए ।
तर, शर्मासँग कार्की ६ महिना पनि टिकेनन् । शर्माले कलेजको नाममा रहेको सबै जग्गा आफ्नो आमाको नाममा राखेपछि डा।कार्की हच्किए । उनीहरुबीच विवाद बढ्यो । त्यसपछि कार्कीलाई पनि अज्ञात समूहबाट धम्की आउन थाल्यो । कार्कीविरुद्ध कलेजकै विद्यार्थी विभाजित गराएर आन्दोलन चर्काइयो । कार्कीको घरमा २०६६ मा सुतली बमसमेत विस्फोट गरार्इएको थियो ।
त्यसपछि भयभित र वाक्क दिक्क भएर डा।कार्कीले शेयर फिर्ता लिए । कार्कीले शेयर फिर्ता लिएपछि बिनापैसा छिरेका सुनिल शर्माले करोडौको लगानीमा बनेर सञ्चालनमा आएको नोबेल कलेज र अस्पतालको एकल मालिक बने ।
कलेज आफ्नो भएपछि शर्माले युएनमा काम गर्दै गरेका दाजु केपी शर्मालाई ल्याएर कलेजको निर्देशक बनाए । उनी पनि सुनिलसँग टिक्न नसकेर बाहिरिए । त्यसपछि पूर्वाञ्चल विश्वविद्यायका पूर्वरजिष्टार भोगेन्द्र आर्चाय र डा। नरायणकुमारलाई नोबेलमा प्रवेश प्रवेश गराएकोमा उनीहरु पनि टिक्न सकेनन् ।
शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धिकरणमा पनि उजुरी परेको थियो । त्यसबेला उनले बाबु त्रिलोक न्यौपानेलाई अस्पतालको अध्यक्ष बनाएका थिए । सम्पत्ती शुद्धिकरणले उनलाई हिरासतमा पनि राखेर अनुसन्धान गरेको थियो । तर, शक्तिकेन्द्रको आडमा उनले उन्मुक्ति पाएको आरोप लाग्ने गरेको छ । सबैतिरबाट उन्मुक्ति पाएपछि उनले फेरि बाबुलाई हटाएर आफैं अध्यक्ष बनेका थिए ।
नोबेल सुरुदेखि अहिलेसम्म शर्माजस्तै विवादमा छ । कहिले स्वास्थ्यकर्मीले लापर्वाही गरेर विरामी मारेको आरोप लाग्ने नाबेलले कोराना महामारीको बेला अप्रेसन थिएटरमा लगेको विरामीलाई बाहिर निकालेर विवादमा परेको थियो । आवश्यक्ता भन्दा वढि विद्यार्थी भर्ना लिएको र तोकिएको भन्दा बढि शुल्क लिएको आरोप पनि नोबेलमाथि लाग्ने गरेको छ ।
डा। गिरीबाट नोबेलको स्वामित्व लिंदा शर्माले गैरकानूनी बाटो अपनाएको र अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७६ मंसीर १ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नोबेलमा छापा मारेको थियो । अहिलेसम्म पनि विभागको अनुसन्धान सकिएको छैन ।