विराटनगर । कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो ।
जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश हुने तयारी थियो । सदन स्थगनमा गएपछि नीति कार्यक्रम पेश भएको छैन । बुधबार आगमी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजानिक गरेर प्रदेशसभाको बैठक अन्त्य गर्ने तयारी गरिएको बुझिएको छ । कार्की नेतृत्वको सरकार अल्पमतमा परेकोले सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यहीबेला सभामुख बाबुराम गौतमले ससद बैठक बोलाएका छन् ।
आइतबारमात्रै प्रदेशका विपक्षी दलहरुले अध्यादेशबाट बजेट नल्याउन, त्यसरी ल्याए अस्वीकार गर्ने चेतावनी दिएका छन्् ।