बालुवाटारबिरुद्ध खुमलटारमा बन्यो यस्तो योजना - News Birat

बालुवाटारबिरुद्ध खुमलटारमा बन्यो यस्तो योजना

न्यूज विराट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको बैठकमा सहभागी हुनुअद्धि गठबन्धनमा आवद्ध अन्य दुई दलका शीर्ष नेतासँग छट्टै बैठक गर्नुभएको छ ।

यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आउनु भएका माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवलगायतसँग छुट्टै छलफल गर्नुभएको हो । बैठक प्रचण्डनिवास खुमलटारमा बसेको हो ।

माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निष्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । खुमलटार बैठक सकेर बालुवाटार पुगेलगत्तै सत्तागठबन्धनको बैठक सुरु भएको छ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि असहमत तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

छलफलमा प्रधानमन्त्री देउवालाई आफूहरुको योजनामा आउन बाध्य पार्ने र आवश्यक परे एमालेसँग सहमति गर्छाैं भन्दै धम्क्याउने रणनीति तय भएको स्रोतले बतायो ।

सत्तागठबन्धनको हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट पुग्नुभएको थियो । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइए पनि ठोश कुरा बाहिर आएको छैन । पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्तागठबन्धन धरापमा परेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles