साताभर नै उतारचढावपूर्ण रहेको शेयरबजार अन्तिम दिन भने दोहोरोे अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से सूचक ३७.८७ अंकले घटेर २३७६.७४ अंकमा पुगेर बन्द भएको हो । योसँगै सेन्सेटिभ परिसूचक पनि ५.८८ प्रतिशतले घटेर ४५३.५३ अंकमा पुगेको छ ।
बिहीबार कारोबारमा आएका २ सय २४ कम्पनीको ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँको शेयर किनबेच भएको हो । बुधबार ४ अर्बभन्दा माथि रहेको कारोबार बिहीबार पुन: खस्किएको हो ।
खस्किएको बजारमा म्युुचुअल फण्डबाहेक सबै समूहका सूचक घटेका छन् । कम्पनीगत रूपमा नेपाल बंगलादेश बैंकले सर्किट लेबलमा शेयरमूल्य बढाउन सफल बनेको छ भने स्वाभिमान लघुवित्तको ५.३५ प्रतिशतले बढेको छ । योबाहेक अन्य १६ कम्पनीको पनि आज शेयरमूल्य बढेको हो । यता घट्नेमा भने १६९ कम्पनी छन् । जसमा ग्रीन लाइफ हाइड्रो, मैलुङ खोला जलविद्युत् र हिमालयन पावरको सर्वाधिक मूल्य घट्न पुगेको छ । यी तीन कम्पनीको ७ प्रतिशतको दरमा शेयरमूल्य घटेको हो ।
कारोबारमा भने आज प्रभु बैंक अगाडि छ । यो बैंकको आज ९ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । योसँगै नेपाल बंगलादेश बैंक, समृद्धि फाइनान्स, अपी पावर कम्पनीलगायतको कारोबार आज सर्वाधिक भएको छ ।