काठमाडौं, असोज ५ । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको हो । नेपाल खुद्रा व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार गत दुुई वर्षको बीचमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपैयाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपैयाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ ।
सङ्घका अनुसार २०७६ जेठ ३१ गते भटमासको तेल प्रतिलिटर १३५ रुपैयाँ, भएकोमा गएको गएको भदौ १० गतेसम्म तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रुपैयाँ भएको छ । यो अवधिमा भटमासको तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ । यस्तै २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपैयाँ रहेको सनफ्लावर तेल गत भदौ १० गते बढेर प्रतिलिटर २५० रुपैयाँ भएको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ बढेको छ ।
२०७७ को माघ पहिलो साता विभागले उद्योगमा नै गएर अनुगमन गरेको थियो । अनुुगमनपश्चात बारामा रहेका दुई तेल उद्योगले बढी मूल्य लिएको भन्दै विभागले तीन/तीन लाख रुपैयाँ जरिवाना गर्दै मूल्य घटाउन निर्देशनसमेत दिएको थियो । विभागले उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरेको थियो ।
विभागले हाल सञ्चालनमा रहेका २० वटा तेल उद्योगको अनुगमन गरेपछि उद्योगीले ठूलो मात्रामा मूल्य बढाएको पाइएको छ । विभागले अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिए पनि उद्योगीले पत्रमा मात्र घटाएको तर उपभोक्ताले घटेको अनुभव गर्न नपाएको खुद्रा व्यापारीको भनाई छ ।