मेसीले छाडे बार्सिलाेना - News Birat

मेसीले छाडे बार्सिलाेना

न्यूज विराट

काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् ।

 क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता नवीकरण हुन नसकेकाे बताएकाे छ । क्लब र खेलाडी राजी भए पनि ला लिगाकाे नियमअनुसार सम्झाैता नवीकरण हुन नसकेकाे क्लबकाे जनाउ छ । बार्सिलाेनाले मेसीको व्यक्तिगत र व्यावसायिक सफलताको कामना पनि गरेको छ ।

सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेसी ६ पटकको बालोन डी’ओर विजेता हुन् । बार्सिलाेनामा रहेर उनले १० सिजनकाे ला लिगा, ४ पटक च्याम्पियन्स लिग र ७ पटक काेपा डेल रे उपाधि जितेका छन् । बार्सिलाेनाका लागि ७ सय ७८ खेल खेलेका मेसीले ६ सय ७२ गोल गरेका छन् ।

३४ वर्षे मेसीलाई अब अन्य कुनै क्लबमा देख्न सकिने छ । उनी कुन क्लबमा देखिने छन्, अहिलेसम्म कुनै संकेत गरेका छैनन् । केहीअघि उनी पेरिस सेन्ट जर्मेन वा म्यानचेस्टर सिटी जानसक्ने चर्चा थियाे ।

केही वर्षयता हरेक नयाँ सिजनअघि मेसीले क्लब छोड्ने अड्कलबाजी हुने गरेकाे थियाे ।  तर, यसपल्ट उनले वास्तवमै क्लब छाेडिदिएका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles