काठमाडौं, असार १२ । एमाले महासचिव इश्वर पोखरेलले न्यायपालिकाले राजनीतिक दलमाथि हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । पछिल्लो समय सर्वाेच्च अदालतले राजनीतिक दलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेको भन्दै महासचिव पोखरेलले अदालत राजनीतिक मुद्दामा प्रवेश गर्दा समस्या निम्तिएको बताउनु भयो ।
न्यायपालिकाको काम आमनागरिकले पनि बुझिरहेको भन्दै महासचिव पोखरेलले न्यायपालिकाले लोकतन्त्रसम्मत काम गरिरहेको छ कि छैन, नागरिकले मूल्याङ्कन गरिरहेको बताउनुभयो । “न्यायालयमाथि राजनीतिक दलले हस्तक्षेप गर्नुहुँदैन, राजनीतिक दलको विषयमा न्यायालयले हस्तक्षेप गर्नु हुँदैन,” भमहासचिव पोखरेलको भनाई छ । पार्टीको आन्तरिक समस्या बाहिर छताछुल्ल गरेर समाधान नहुने भन्दै महासचिव पोखरेलले आन्तरिक विवाद आन्तरिक छलफल र संवादबाटै समाधान हुने बताउनुभयो ।
महासचिव पोखरेलले पार्टी एकता कायम गर्न २०७५ जेठ २ लाई ‘लेजिटिमेट बोर्डर लाइन’ र त्यसपछि भएका पार्टी गतिविधिको गम्भीर समीक्षा गरेर अगाडि बढ्नु अपरिहार्यता रहेको बताउनु भयो । एकता कायम गर्न सबै लाग्नुको विकल्प नरहेको भन्दै उहाँले पार्टी एकताका लागि भावनात्मक कुरा गरेर मात्र नपुग्ने, ठोस कदम चाल्नुपर्ने बताउनु भयो । आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनसँग मिलेर पार्टीभित्रका केही नेताले अक्षम्य अपराध गरिरहेको उहाँले टिप्पणी पनि उहाँको छ ।