देशले फेरि लकडाउन धान्दैन : कांग्रेस - News Birat

देशले फेरि लकडाउन धान्दैन : कांग्रेस

न्यूज विराट

नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुनसक्ने र विश्वका अन्य देशहरूमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ का बिरामीको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्नसमेत माग गरिएको छ ।

कांग्रेसले कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितलाई लक्षित गरी पीसीआर परीक्षण दायरालाई व्यापक बनाउन, कोभिड–१९ विरुद्धको आमजनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजनासहित अगाडि बढाउन र  खोप आपूर्ति सुनिश्चितताका लागि उच्च कूटनीतिक पहल गर्नसमेत सुझाव दिएको छ ।

स्वास्थ्यकर्मीको बीमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन, अस्पतालमा स्वास्थ्यकर्मीको सङ्ख्यामा देखिएको कमीलाई तत्काल परिपूर्ति गर्न, तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्नसमेत कांग्रेसले सरकारसँग माग गरेको छ ।

मुलुकले पुनः लकडाउनको अवस्था धान्न नसक्ने भन्दै कांग्रेसले वर्तमान परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।

सहमहामन्त्री डा महतले कोभिड–९ का कारण २०७८ सालमा संकटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई अनिवार्य मास्क लगाउने, स्यानेटाइजर र साबुनपानीको प्रयोग गरी हात सफाइमा ध्यान राख्ने र भौतिक दूरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को अवसरमा शुभकामनासमेत व्यक्त गरे । रासस

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles