प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु - News Birat

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु

न्यूज विराट

विराटनगर, २५ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धिका लागि परियोजना सुरु भएको छ । शुक्रबारदेखी उद्घाटन् गर्दै प्रदेश १ का तीन जिल्लामा दक्षता परियोजना सुरु भएको हो । बेरोजगार युवारुमा दक्षता तथा शिप अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल संघ नेपालको सहकार्यमा युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सीलको व्यवस्थापनमा प्रदेश १ मा उक्त परियोजन सुरु भएको हो ।

शुक्रबार अपराहन्न विराटनगरमा प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिस कुसियतले उद्घाटन गरे । सो अवसरमा मन्त्री कुसियतले शिपमुलक तालिमहरु उपयोगि हुनुपर्ने जोड दिए । उनले विगतमा तालिमको सदुपयोग न्युन मात्रामा हुने गरेकाले दक्ष जनशक्ति उत्पादन गरि रोजगारीमा जोडनुपर्ने बताए ।

मन्त्री कुसियतले शिप नभएकै कारण विदेशमा नेपालीहरु न्युन ज्यालामा काम गर्दै आउनुपरेकाले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक नीति बनाउने बताए ।

उनले उद्योग र उत्पादन मुलुक समृद्धिको आधार भएकाले बताए । मन्त्री कुसियतले स्वदेशमा दक्ष जनशक्ति अभावका कारण उद्योगले विदेशी कामदारलाई काममा लगाउनुपर्ने बाध्यता रहेकाले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले सुनसरी मोरंग औद्योगिक करिडोरमा सञ्चालीत उद्योगहरुमा तालिम प्राप्त दक्ष जनशक्ति अभाव रहेकोसमेत बताए ।
कार्यक्रममा १ नं. प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले सुनसरी मोरंग औद्योगिक करिडोरमा मात्र ६० हजार बढी दक्ष जनशक्ति अभाव रहेकाले कामदारको शिप विकास गरि स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने बताए ।

उनले तीनै तहका सरकार र विभिन्न संघ संस्थाले शिपमुलक तालिम सञ्चालन गर्दै आएको भएपनि त्यसको सदुपयोग हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उपाध्यक्ष प्याकुरेलले शिपमुलक तालिमहरु सदुपयोग हुनेगरी तालिमको माृडालिटिमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘वर्षेनी तालिमहरु धेरै हुन्छन् । त्यसरी तालिम लिनेहरु के गर्दै हुनुहुन्छ तालिम दिने निकायलाईनै थाहा हुँदैन ।’ उनले भने ,‘अब तालिमका लागि तालिम मात्र नभएर त्यसको सहि सदुपयोग हुनेगरी तालिमको डिजाइन गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले दक्षता परियोजना प्रत्येक प्रदेशका तीन÷तीन जिल्लामा गरि देशभर २१ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिए । उनले नेपालका कृषि, पर्यटन र निर्माण क्षेत्रमा आवश्य दक्ष जनशक्ति उत्पादन परियोजनाको मुख्य उदेश्य रहेको जानकारी दिए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव चन्द्र घिमिरे, प्रदेश १ सरकारका मुख्य सचिव दिनेश भट्टराई, सिटिइभिटि १ नं. प्रदेशका प्रमुख शिवप्रसाद दाहाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाललगायतले दक्ष जनशक्ति उत्पादनका लागि परियोजना कोशेढुंगा सावित हुने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल संघ नेपालको सहकार्यमा युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सीलको व्यवस्थापनमा सञ्चालीत दक्षता परियोजनाको सहयोगमा कृषि, पर्यटन र निर्माण क्षेत्रका कामदारहरुलाई लक्षित गरि Establishing Employer led labour market secretariat (ELMS project) कार्यान्वयन गर्न लागिएको जनाइएको छ ।

विराटनगरस्थित इस्टर्न स्टार होटलमा शुक्रबार परियोजना लन्च गरिएको हो । कार्यक्रममा प्रदेश १ का मोरङ, झापा र सुनसरी र उदयपुर जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरंगका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles