काठमाडौं, १० पुस-लगानीकर्ताको लामो संघर्षपछि धितोपत्र बोर्डले शुक्रबारबाट धितोपत्र दलाल ब्रोकरले लिने कमिसन घटाएको छ । शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै अब लगानीकर्ताको कारोबारअनुसार थोरैमा ०.२७ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन लिन सक्ने व्यवस्था गरेको हो ।
बोर्डले ८५ प्रतिशत लगानीकर्ताले अनलाइन प्रणालीबाट शेयर कारोबार गर्ने तथा दैनिक ९ अर्बभन्दा बढीको कारोबार भइरहेको अवस्थामा ब्रोकर कमिसन मात्रै करौडौँ रुपैयाँ बुझाउनुपर्ने बाध्यात्मक स्थितिलाई परिमार्जन गर्दै लगानीकर्तालाई सहज बनाएको छ ।
बोर्डले आइतबारबाट लागू हुने गरी धितोपत्र व्यवसायी नियमावली २०६४ (तेस्रो संसोधन) को नियम ३२(१) बमोजिम व्यवसायीले धितोपत्र कारोबार गराएवापत ग्राहकबाट प्राप्त गर्ने शुल्कसम्बन्धी विद्यमान अनुसूची १४ लाई सच्याउँदै कमिसन घटाएको हो ।
बोर्डका अनुसार अब लगानीकर्ताबाट धितोपत्र दलालले ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत,२० लाखदेखि १ करोडसम्म ०.३० प्रतिशत र १ करोडभन्दा माथिको रकमको कारोबारमा ०.२७ प्रतिशतसम्म कमिसन अशुल गर्न सक्नेछन् ।
यसअघि लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.६० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत र ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.५० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.४५ प्रतिशत र १ करोड भन्दा माथिको कारोबार गरेवापत ०.६ प्रतिशत कमिसन ब्रोकरलाई तिर्दै आएका थिए ।
लगानीकर्ताले शेयरकारोबार पूर्णरूपमा अनलाईन प्रणालीमा गइसकेपछि पनि बिनाकारण ब्रोकरलाई कमिसन तिर्नुपर्ने भन्दै कमिसन घटाएर ०.२५ प्रतिशतसम्म पुर्याउनुपर्ने माग गरेका थिए । यद्यपि बोर्डले कमिसन ०.४० प्रतिशतसम्म मात्र घटाएको छ ।
कमिसन घटाउन लामो समयसम्म आनकानी गरेको बोर्डले अर्थमन्त्री विष्णु पौडेलबाट घटाउन निर्देशन पाएसँगै कमिसन अध्ययनमा तीव्रता दिएको थियो । यद्यपि घटेको कमिसनप्रति अझै लगानीकर्ता सन्तुष्ट छैनन् । लगानीकर्ताले गरेको मागभन्दा बढी नै कमिसन लिन पाउने व्यवस्था गरेको हो ।
पछिल्लो समय अनलाईनबाट कारोबार गर्ने लगानीकर्ता बढेसँगै दैनिक कारोबार ९ अर्ब पुगेपछि लगानीकर्ताबाट दैनिक ४ देखि ६ करोडसम्म कमाउँदै आएका थिए । अब भने यो रकम घट्ने छ ।