रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो ।
उक्त मिल्सले आज एक विज्ञप्ति जारी गर्दै पहिलो दिन अर्थात शुक्रबार १६ करोड ४४ लाख ७० हजार र आइतबार आठ करोड ८५ लाख ५७ हजार रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको छ । मिल्सले बाँकी रकम प्रत्येक दिन क्रमश भुक्तानी गर्दै जाने जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम ३५ करोड रहेको छ । अझै मिल्सले १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसैगरी, मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी चिनी मिल्सको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको १७ करोड बाँकी रहेको छ ।
गत वर्षको १८ पुसमा सरकार, चिनी मिल्स र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । लुम्बिनी चिनी मिल्सले आइतबारदेखि दैनिक एक करोडका दरले बक्यौता रकम भुक्तानी गर्ने जनाइसकेको छ । रासस