संवैधानिक परिषद्ले गरेन कुनै निर्णय - News Birat

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

न्यूज विराट

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे छलफल भए पनि कुनै निर्णय नभएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जनाएका छन् ।

प्रधानमन्त्रीसहित तीन जना उपस्थित हुँदा गणपूरक संख्या पुग्ने गरी सरकारले अध्यादेश जारी गरेपछि पहिलो पटक बैठक बसेको हो । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधान्यायाधीश चोलेन्द्र समशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी थिए ।

आफ्नै पार्टीभित्र र प्रतिपक्षबाट अध्यादेशको विरोध भएपछि प्रधानमन्त्री ओली संवैधानिक नियुक्तिका निर्णय गर्न हच्किएका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् । बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles