शिक्षक श्रेष्ठको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन माग - News Birat

शिक्षक श्रेष्ठको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन माग

न्यूज विराट

नेपाल शिक्षक संघले २३ मंसिरमा मोरङको मिक्लाजुङ गाउँपालका- १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्याको भर्त्सना गरेको छ । संघले तत्काल दोषीलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै हत्या गरिएका शिक्षक श्रेष्ठलाई सहिद घोषणा गर्नुपर्ने, परिवारजनलाई यथोचित क्षतिपूर्तिका साथै सम्बन्धित परिवारजन र देशभरका शिक्षकको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।

‘विद्यालयलाई शान्तिक्षेत्र बनाउने नेपाल सरकार र राजनीतिक दलहरूको प्रतिबद्धतालाई वास्तविक रूपमा कार्यान्वयन गर्न र शैक्षिक अमनचैन कायम गर्न प्रभावकारी पहलकदमी लिनका लागि नेपाल सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराउँदछौँ’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाका आधारमा स्वेच्छाचारीरूपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आग्रह गरेको छ । आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको पनि जनाएको छ ।

शिक्षक श्रेष्ठको मंगलबार बिहान घाँटी रेटेर हत्या गरिएको थियो । उनको शव हात पछाडि बाँधिएको अवस्थामा भेटिएको थियो । मंगलबार बेलुका विज्ञप्ति जारी गर्दै शिक्षक श्रेष्ठको हत्याको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles