प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप - News Birat

प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप

न्यूज विराट
काठमाडौं, ४ मंसिर-नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद थप भएको छ । गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको भए पनि मन्त्रिपरिषद्‌ले एक एआईजीसमेत थप गर्ने निर्णय गरेको गृह स्रोतको भनाइ छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को आधिकारिक पत्र भने प्रहरी प्रधान कार्यालयमा नपुगेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुवेरसिंह कठायतले जानकारी दिए । ‘थप भएको सूचना मैले पनि सुनेको हो । तर, आधिकारिक पत्र आइपुगेको छैन्,’ उनले भने ।

यसअघि सरकारले चैतमा २६ डीआईजीको दरबन्दी रहेको प्रहरीमा १२ दरबन्दी कटौती गरेर १३ मात्रै कायम गरेको थियो । बिनाअध्ययन डीआईजीको दरबन्दी कटौती गरेको भन्दै प्रहरीमा त्यसको विरोध भएको थियो । पूर्वआईजीपी ठाकुरप्रसाद ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानेको व्यत्तिगत ‘टसल’का कारण डीआईजीको दरबन्दी कटौती भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles