सार्वजनिक यातायातको नियमन गर्न ओटिएमएस लागू - News Birat

सार्वजनिक यातायातको नियमन गर्न ओटिएमएस लागू

न्यूज विराट
काठमाडौं, ४ मंसिर-मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ ।  

यातायात सुविधाम नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने नीतिअनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको हो ।

सरकारले कोरोनाको जोखिम घटाउन र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भीड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद बिक्री निर्देशिका लागू गरिसकेको छ ।

अनलाईन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले सार्वजनिक यातायातलाई सर्वसुलभ, पारदर्शी सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्ने सन्दर्भमा मन्त्रालय कानुन निर्माणमा लागिरहेको बताए । उनले एकीकृत प्रकृया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरणको कल्पना गरिएको समेत बताए ।

ओटिएमएसको माध्यमबाट यातायात सेवा प्रदायकले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तर्गत निकायलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

ओटिएमएसले लगानीकर्ताको सञ्चालन खर्च घटाई मुनाफा वृद्धि गराउनुका साथै टिकट खरिद बिक्री प्रक्रियामा विचौलियालाई पूर्णरूपमा निषेध गर्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles