मोडेर्नाको कोरोनाविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी - News Birat

मोडेर्नाको कोरोनाविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी

न्यूज विराट

एजेन्सी, मंसिर १-मोडेर्नाले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको छ । सोमबार सो कम्पनीले तत्काल प्राप्त तथ्यांकको विश्लेषणबाट खोप प्रभावकारी रहेको पाइएको जनाएको छ ।

फाइजर कम्पनीले बनाएको खोप ९० प्रतिशत सुरक्षित र प्रभावकारी रहेको घोषणा गरेको एक सातापछि नै मोडेर्नाको यो घोषणा आएको हो । यसको अर्थ कोरोना भाइरसको महामारीमा दुई वटा खोप क्लिनिकल परीक्षण निकै सुरक्षित र प्रभावकारी देखिएका छन् ।

मोडेर्नाले ३० हजारभन्दा बढीमा लगाएको खोपको तथ्यांकको विश्लेषणपछि यो घोषणा गरेको हो । त्यसमध्ये आधाले २८ दिनको बिचमा दुई खोप लगाएका थिए ।

मोडेर्ना कम्पनीका प्रमुख कार्यकारी स्टेफन बाँचेलले कोरोना विरुद्धको खोपमा यो उत्साहजनक नतिजा भएको बताएका छन् । उनले आगामी जनवरीभन्दा अघि नै कोरोनाविरुद्धको सुरक्षित खोप दिनसक्ने आशा पलाएको समेत बताएका छन् ।

मोडेर्नाले सन् २०२० मा अमेरिकालाई २० करोड खोप उपलब्ध गराउन सक्ने र सन् २०२१ सम्मा ५० करोडदेखि १ अर्ब खोप उत्पादन गर्न सक्ने जनाएको छ ।

फाइजर कम्पनीले पनि सोही परिमाणमा खोप निर्माण गर्न सकिने गत साता घोषणा गरेका थियो । मोडेर्नाले कोरोना भाइरस विरुद्धको खोप निर्माणका लागि अमेरिकी सरकारबाट ९ अर्ब ५० करोड डलर प्राप्त गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles