काठमाडौं, २६ कात्तिक-सरकारले तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी गरेको छ । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले तिहार र छठपछि लकडाउन गरेर कोरोना नियन्त्रण गर्ने निष्कर्ष निकालेको हो ।
छलपलमा महानगर र नगरप्रमुखहरूले फेरि लकडाउन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआरको दायरा बढाउनु पर्ने, गम्भीर बिरामीका लागि तत्काल उपचार, आईसीयू, अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न सुझाव दिएका छन् ।
‘मेयरहरूको सुझावमा तीन जना मन्त्री नै गम्भीर हुनुभएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर तिहार र छठपछि कोरोना नियन्त्रणमा ब्रेक गर्ने निष्कर्ष निकालिएको छ,’ दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले भने, ‘तिहार र छठपछि कडा लकडाउनामा गएर त्यो अवधिमा कन्ट्याक्ट ट्रेसिङ गर्दै परीक्षणको दायरा बढाए नियन्त्रण गर्न सबै सहमत हुनुहुन्छ । यी विषय उहाँहरूले क्याबिनेटमा लैजाने भन्नुभएको छ ।’
सरकार भएको अनुभूति जनतालाई हुने गरी काम गर्न आफूले सुझाव दिएको उनले बताए । ‘कोभिड नियन्त्रको लागि तीन वटै सरकारको प्रयास फरक ढंगले हुनुपर्छ । सरकार भएको अनुभूति दिने गरि अब काम गर्नुपर्छ,’ उनले भने ।