
काठमाडौं, २६ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न आयोजनाहरुको निरीक्षण भ्रमणका लागि संखुवासभा पुगेका छन् ।हेलिकोप्टरमा संखुवासभा पुगेका प्रधानमन्त्रीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गरेका छन् । उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बुधबार नै प्रधानमन्त्रीले च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने र नेपाली सेनाले काम गरिरहेको कोशी राजमार्गको ट्रयाक निरीक्षण गर्ने कार्यक्रम छ । उनले अरुण जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नेछन्।
प्रधानमन्त्री बुधबार नै काठमाडौं फर्किने कार्यक्रम छ । दोस्रोपटक मृगौला फेरेपछि प्रधानमन्त्री पहिलोपटक राजधानी बाहिर निस्किएका हुन् । निजी सचिवालय स्रोतका अनुसार उनले पहिलोपटक प्रधानमन्त्री भएकैबेला किमाथाङ्का जाने योजना बनाएका थिए ।