फर्जी बाबु बनाउन खोज्दा पक्राउ - News Birat

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

न्यूज विराट
चितवन २४ कात्तिक-भरतपुर महानगरपालिका- ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा ल्याएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले बुबा इन्द्रबहादुर मल्ल र आमा मिरा शाह बनाएर नागरिकता लिन लागेपछि अनुसन्धान सुरु गरिएको हो । छोरीको जन्म मिति विसं २०५७ असोज १ गते र बाबु आमाको विवाह दर्ता विसं. २०६२ जेठ १६ गतेको भेटेपछि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

निजहरूले छोरीको जन्मदर्ता भने विसं २०७० मा गरेको पाइएको छ । जन्मिएपछि जन्मदर्ता कुनै पनि समयमा गर्ने प्रचलन रहेको छ । जन्म भएको मिति बाबु-आमा भनिएकाको विवाह भएको मितिभन्दा अघि देखिएपछि शंका लागेर प्रशासनले अनुसन्धान गरेको शर्मा बताउँछन् ।

 वडा कार्यालयको सिफारिससहित यही १७ कात्तिक नागरिकता बनाउन आएका उनीहरूबाट नक्कली कागजात भेटिएको हो । कागजपत्र पेश भएसँगै कार्यालयले अनुसन्धान सुरु गरी वडा अध्यक्ष, वडा सचिवसहित ६ जनाको बयान लिएको छ । अन्य चार जनाको बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles