एजेन्सी, २० कात्तिक-च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले जीत हात पारेका छन् । समूह जी अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ६५ औँ मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना २–१ ले अघि बढ्यो । डाइनामो किभका लागि सिगान्कोभले ७५ औँ मिनेटमा एक गोल फर्काए । लगातार तेस्रो जितसहित बार्सिलोना ९ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा इटालियन क्लब युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ ले पराजित गरेको छ । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे । फेरेन्सभारोसीका डिभालीले आत्मघाती गोल गरे भने बोलीले एक गोल फर्काए ।
जितपछि तीन खेलबाट ६ अंकसहित युभेन्टस समूहको दोस्रो स्थानमा रहेको छ । गएराति नै भएको समूह इ को खेलमा चेल्सीले रिनेसलाई ३–० ले पराजित गरेको छ भने सेभिल्लाले एफके क्रास्नोडरलाई ३–२ ले पराजित गरेको छ ।
समूह एफ को खेलमा बोरुसिया डर्टमुण्डले क्लब ब्रूगलाई ३–० ले पराजित गर्दा जेनिट सेन्ट–पिटर्सबर्ग र लाजिओले १–१ को बराबरी खेलेका छन् ।