विराटनगर, २९ असोज–प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार र विराटनगरमा तीन कोरोना संक्रमितको मृत्यु भएको हो । धारास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार तीन र आज बिहान एक जनाको मृत्यु भएको हो ।
प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहिबार विहान तेह्रथुमका ३१ वर्षीय पुरुषको मृत्यु भएको छ । १० असोजमा कोरोना पुष्टि भएर ११ असोजमा प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका उनको बिहिबार विहान ७.१५ बजे मृत्यु भएको हो । मृतक पुरुष मृगौलासम्बन्धी रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै सोही अस्पतालमा गएराती १२.०५ बजे सुनसरीको इटहरी–२० की ७५ वर्षीया महिलाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनलाई २८ असोजमा कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी प्रतिष्ठानकै कोभिड १९ अस्पतालमा २५ असोजमा कोरोना पुष्टि भएका धरान–९ का ५८ वर्षीय पुरुषको बुधबार राती ११.५५ बजे, २७ असोजमा कोरोना पुष्टि भएकी धरान–९ कै ४४ वर्षीया महिलाको बुधबार ३.१५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
विराटनगरमा तीनको मृत्यु
युता विराटनगरमा पनि कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मोरङका दुई र सुनसरीका एक जनाको मृत्यु भएको हो । कोशी कोभिड अस्पतालमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । २१ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनको बिहीबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकमा मधुमेहको पुरानै समस्या रहेको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
यसैगरी विराट नर्सिङ होममा सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचारकेन्द्रमा उपचाररत सुनसरीको धरानका कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । धरान १५ घर भएका ६६ वर्षीय पुरुषको बुधबार राती ९ बजे मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकृत आनन्द लामिछानेले जानकारी दिए ।
उनका अनुसार असोज २६ गते कोरोना पोजेटिभ देखिएका उनी होम आईसोलेसनमा थिए । स्वासप्रस्वासको समस्या भएपछी बुधबार नै उनलाई कोशी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।