
संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए । आमरण अनशनमा रहेका डा. केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएकाले आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बन्द गर्न आफूहरू बाध्य भएको पनि उनले बताए । सरकार गम्भीर पनि नहुने र वार्ता एवं सम्वादलाई औपचारिकतामा मात्रै सीमित गरिएको भन्दै संघले गम्भीर आपत्तिसमेत प्रकट गरेको छ ।
आइतबारसम्म पनि सत्याग्रहको अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने महासचिव रिजालले बताए । संघले आइतबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई संघका सम्पूर्ण शाखाकार्यालय, नेपाल भरीका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने समेत डा. रिजालले बताए । डा. केसी आमरण अनशनमा बसेको आज २७ दिन पुगेको छ ।