एजेन्सी, ८ भदौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले आफ्ना भाइ राष्ट्रपति ट्रम्पलाई कुनै सिद्धान्त नभएको झुठो व्यक्ति भएको बताएकी छन् । एक गोप्य रेकर्डिङमा उनले सो कुरा भनेको अडियो सार्वजनिक भएको हो ।
संघीय अदालतकी पूर्वन्यायाधीश मेरियान ट्रम्प ब्यारीले गरेको यो टिप्पणी उनकी भतिजी मेरी ट्रम्पले गरेकी थिइन् । मेरीले गत महिना एक पुस्तक प्रकाशित गरेकी थिइन्, जसमा राष्ट्रपति ट्रम्पको कडा आलोचना गरिएको छ ।
सो अडियोमा ट्रम्पका बारेमा उनकी दिदी ब्यारीले भनेकी छन्, ‘उसका बकबास ट्वीटबाट ईश्वरले नै बचाउन् । यो धोकाधडी र क्रुरता हो ।’
आफूलाई कानुनी झमेलाबाट बचाउनका लागि मेरीले आफ्नी फुपुले बोलेको सो कुरा गोप्य रुपमा रेकर्ड गरेकी थिइन् ।
राष्ट्रपति ट्रम्पले यो रहस्योद्घाटनबारे आफ्नो भनाई सार्वजनिक गरेका छन् । व्हाइट हाउसका तर्फबाट सार्वजनिक गरिएको सो प्रतिक्रियामा भनिएको छ, ‘हरेक दिन केही अलग कुरा आइरहन्छ, यसमा कसले परवाह गर्छ ।’ यो अडियो रेकर्ड सबैभन्दा पहिले वासिङ्गटन पोस्टले प्रकाशित गरेको थियो । त्यसपछि सो रेकर्डको विषय एसोसियट प्रेसले समेत छापेको थियो ।
यो अडियो रेकर्डिङमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासी नीतिको निन्दा गरेकी छन् । सो नीतिअनुसार बच्चाहरुलाई समेत सीमा क्षेत्रमा रहेका प्रवासी हिरासत केन्द्रमा राखिएको थियो भने ठूलो संख्यामा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई सीमाबाट पक्राउ गरिएको थियो ।
मेरीले आफ्नो जीवनी ‘टु मच एन्ड नेभर इनफः हाउ माइ फेमिली क्रिएटेड द वल्र्डस् मोस्ट डेन्जरस म्यान’ मा आफ्ना काकाले आफ्नो स्थानमा परीक्षा दिनका लागि अर्को व्यक्तिलाई पैसा दिएको खुलासा गरेकी थिइन् ।
ब्यारीले यो रेकर्डिङमा यसैतर्फ इशारा गर्दै आफूलाई परीक्षा दिने साथीको नाम समेत थाहा भएको उल्लेख गरेकी छन् । यद्यपि ब्यारीले आफ्ना भाइ डोनाल्ड ट्रम्पको समर्थन गर्ने र आफूहरु निकै नजिक रहेको बताउँदै आएकी थिइन् । उनले एक पटक आफ्नो शल्यक्रिया गरेको समयमा आफूलाई हेर्न भाइ दैनिक आएको बताएकी थिइन् । आगामी ३ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प रिपब्लिकन पार्टीबाट दोस्रो कार्यकाल राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्दैछन् ।
यो प्रतिस्पर्धा अघि नै उनको परिवारभित्रै उनलाई नरुचाइने गरेको र पारिवारिक विभाजन तथा तित्तता रहेका समाचार बाहिर आएका हुन् । विपक्षीले ट्रम्पमाथि अमेरिकी समाजलाई विभाजित गराएको आरोप लगाउँदै आएका छन् ।