विराटनगर, २ भदौ-स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट पुनः सुरु भएको छ । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको थिएन ।
मेडिकल अधिकृत डा. प्रज्वल खतिवडा नेतृत्वको टिमले मंगलबारदेखि पुनः स्वाब संकलन सुरु गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले बनाएको आइसोलेनमा बसेकाहरुको स्वाब पहिलो चरणमा संकलन गर्ने काम भइरहेको छ । १० दिनभन्दा अगाडीदेखि आइसोलेशनमा बसेकाहरुको स्वाब संकलन सुरु गरिएको डा.खतिवडाले जानकारी दिए ।
विराटनगर महानगरपालिकाभित्र स्वाब संकलन गर्ने दुई वटा टिम बनाएको छ । महानगरपालिकाले करारमा नियुक्त गरेको मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम बनाएको हो । मेडिकल अधिकृत डा.प्रज्वल खतिवडा र डा.मुकेश पौडेलको नेतृत्वमा रहने ६÷६ जनाको टिम परिचालन हुने भएको विराटनगर महानगरपालिकाले जनाएको छ । अब कुनै पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिहाले भने पनि स्वाब संकलनको काम नरोकिने महानगरपालिकाले जनाएको छ ।