एजेन्सी, साउन २३-श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षेले संसदीय निर्वाचनमा ठूलो जीत हात पारेको घोषणा गरेका छन् । उनका दाजु महिन्दा राजापक्षेलाई अब प्रधानमन्त्री बनाउने बाटो खुला भएको छ । उनले गत वर्षको नोभेम्बरदेखि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
श्रीलंकाको निर्वाचनमा राजापाक्षे परिवारले नेतृत्व गरिरहेको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) ले करिब दुईतिहाई बहुमत ल्याएको हो । यसबाट सो पार्टीलाई संविधानको प्रस्तावित परिवर्तनलाई पूरा गर्न सहयोग पुग्नेछ । सो पार्टीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको छ भने ५ सिट एसएलपीपीको सहयोगी दलले जितेको छ ।
श्रीलंकामा ९ महिनाअघि भएको राष्ट्रपति पदमा समेत सोही पार्टीले जीत हात पारेर गोटाबाया राजापाक्षे निर्वाचित भएका थिए ।१८ नोभेम्बरमा राष्ट्रपतिको शपथ लिएका उनले आफ्नै दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए ।
श्रीलंकामा बुधबार संसदीय निर्वाचनमा भएको थियो । बिहीबारदेखि मतगणना सुरु भएर शुक्रबार नतिजा घोषणा गरिएको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय निर्वाचनमा विजयी भएकोमा त्यहाँका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई टेलिफोन गरेर बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले ट्विट गर्दै राजापाक्षेलाई आफूले फोन गरेर पार्टी र आफ्नो तर्फबाट बधाई दिएको उल्लेख गरेका छन् ।